इटहरी: सुनसरीको इटहरी २ हवाइ चौक निवासी अग्रज कम्युनिस्ट नेता ओम कोइरालाको निधन भएको छ ।

लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त कोइरालाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको आज बिहान ०३ः१७ बजे निधन भएको अस्पतालका सूचना अधिकारी नारायण दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि कोइरालालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । २०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा जन्मिएका कोइरालाले मृत्युअघि नै शरीर दान गरिसकेका थिए । २०२६ सालमा जनता मावि इटहरीमा अध्ययनरत अवस्थामा कम्युनिस्ट राजनीतिमा लागेका कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको सानिध्यमा रही भूमिगत राजनीतिमा भण्डारीसँगै सहयात्रा गरेका थिए ।

२०३० सालमा महेन्द्र वहुमुखी क्याम्पसमा अध्यन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिवका रुपमा पनि उनले काम गरेका थिए । सोही समयमा उनीसमेत संलग्न भई रातो झन्डा नामक कम्युनिस्ट पार्टीसमेत सञ्चालन गरेका थिए । २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटिको कार्यवाहक सचिव बनेका कोइराला २०४६ सालमा भएको पहिलो जनआन्दोलनका क्रममा पक्राउसमेत परेका थिए । राजनीतिक यात्राका क्रममा कोइराला २०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष,२०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य र २०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए । नेता कोइरालालाई असोज २३ गते नागरिक अभिनन्दनसमेत गरिएको थियो । नेता कोइरालाको निःस्वार्थ राजनीतिक यात्राको कदर गर्दै डेढ वर्षअघि नै नागरिक समाज इटहरीको अगुवाइमा नागरिक अभिनन्दनको कार्यक्रम तय भएतापनि कोरोना महामारीका कारण सफल हुन सकेको थिएन ।

सोही कार्यक्रमलाई आज नेकपा एमालेका संघीय नेता सुवासचन्द्र नेम्वाङको ओलीको उपस्थितिमा मुर्त रुप दिइएको थियो । उक्त अवसरमा नेता कोइरालाद्वारा लिखित तीन ओटा पुस्तकहरुसमेत लोकार्पण गरिएको थियो । न्याय र समानताका पक्षधर, संघर्ष र संकल्पका पर्याय तथा रुपान्तरण र सम्भावनाको अन्वेषकका रुपमा चित्रित गर्दै नेता कोइरालालाई अभिन्दनपत्रसहित अभिनन्दन गरिएको हो । अभिनन्दनपत्रमा नेता कोइरालालाई माक्सवादी जीवनचेतनालाई आत्मसात गरी विश्व समुदायलाई नयाँ रुप, नयाँ ढङ्ग र नयाँ मोड दिनका लागि संघर्षमय क्रान्तिपथमा संलग्न एक अथक यात्रीका रुपम दर्शाइएको छ । कोइरालाका श्रीमति, ४ छोरा र २ जना छोरी छन् ।