हिन्दूहरुको महान पर्व बडादसैँ हामी सबैको घरआँगनमा आइसकेको छ । दसैँको धार्मिक महत्व त छँदै छ, त्योभन्दा ठूलो कुरा भनेका परम्परालाई निरन्तरता दिने बहानामा टाढाटाढा रहने हाम्रा आफन्तसँगको भेट हुने भएकाले पनि दसैँ हामी सबैको लागि एक विशेष अवसर बन्ने गरेको छ । परदेशमा हुने छोराछोरी घरदेश आउँदा अनि टाढाटाढाको जागिरमा हुने बाबाआमा दसँैमा आफ्नो परिवार र आफ्नाको खुसीका लागि दुरदराजको घरमा आउँदा दसँै आएको आभास हुन्छ ।

यसरी पारिवारिक जमघट भएको बेला दसैँलाई कसरी मनाउन सकिन्छ त ? मासु मात्र खाएर दसैँ मनाउने पहिलेको चलन बिस्तारै विस्थापित हुँदै छ । परिवारका सबै जना भेट भएको बेला आफ्नो नजिकको पर्यटकीयस्थलमा जाने, रमाउने, मेलाहरुमा जाने, रमाइला खेलहरुको मज्जा लिनेजस्ता कुरालाइ पछिल्लो पुस्ताले महत्व दिन्छ । हामीले पूर्वी नेपालका केही घुम्नैपर्ने धार्मिक तथा रमणीय पर्यटकीय क्षेत्रलाई यस अङ्कमा समेट्ने प्रयास गरेका छौँ ।

सुन्दर शहर धरान
धरान आफँैमा एउटा सुन्दर शहर हो । अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भई लमतन्न आँगनजस्तो भएर सुतेको शहर हो धरान । लाहुरेको शहर भनेर चिनिने धरानमा घुम्नलायक थुप्रै ठाउँहरु छन् । धेरैजसो ब्रिटिस आर्मी र इन्डियन आर्मीमा जागिर खाने वीर नेपालीहरु बस्ने धरान अहिले अरुहरुको पनि निकै भीडभाडयुक्त थलो हो । धरानको पुछारमा औद्योगिक क्षेत्र भएको हुनाले शहरमा प्रदुषण कम छ । धेरैजसो बाटाहरु कालोपत्रे भएका छन् । उकाली ओराली र साथमा हरियाली पनि भएको हुनाले धरान घुमौँघुमौँ लाग्ने रमणीय र सुन्दर छ । धेरैजसो घरहरु डिजाइन निकालेर बनाइएका तीनचार तले छन् जसले सुन्दर शहरलाई अर्को सुन्दरता थपिदिएको छ ।

धरानको मुख्य चौक घण्टाघर भानु चौकमै पर्छ । घण्टाघरमा चढेर धरानको बस्ती नियाल्ने मौका ५० रुपैयाँको टिकममै पाइन्छ । यसबाहेक धरानलाई चिनाउने धार्मिक ठाउँहरु प्नि निकै महत्वपूर्ण छन् । धरानमा बुढासुब्बाको मन्दिर निकै लामो इतिहास बोकेको मन्दिर हो । धरानको विजयपुरमा अवस्थित यो मन्दिर नजिकै भएको ठूलो बाँस झ्याङ्ग प्रेमिल जोडीहरुको लागि धरानमा चिनिएको गन्तव्य पनि हो । शनिबार तथा सार्वजनिक बिदाको दिन भीड लाग्ने बुढासुब्बा नवजोडी तथा पारिवारिक घुमघामको लागि पनि उत्तिकै राम्रो मानिन्छ । धरानमै अन्य घुम्नैपर्ने धार्मिक पर्यटकीय ठाउँहरुमा पिण्डेश्वरधाम मन्दिर, शिवदत्त मन्दिर, दन्तकाली मन्दिर र पन्चकन्या मन्दिर हुन् । यी सबै मन्दिरहरु धार्मिक पर्यटनमा धरान जानेहरुका लागि उत्तिकै राम्रो गन्तव्य मानिन्छन् । परिवारसहित धरानका यी क्षेत्र घुमेर दसैँसँगै धार्मिक पर्यटनलाई महत्व दिएर दसैँबिदालाई सार्थक बनाउन सकिन्छ ।

गोकर्ण रिसोर्ट, सुन्दरहरैँचा मोरङ्ग
गोकर्ण रिसोर्ट मोरङको सुन्दरहरैँचा नगरपालिकाको दुलारीमा पर्छ । इटहरी उपमहानगरपालिकासँगै जोडिएको यो रिसोर्ट विशेषगरी लामो समयसम्म घरमा र विद्यालयमा सीमित भएका बालबालिकालाई लिएर परिवार नै घुम्न जान सकिन्छ । ५० रुपैयाँमै छिर्न सकिने गोकर्ण रिसोर्टमा खेल्न र खेलाउनको लागि भने अरु थप शुल्क लाग्छ । विशेषगरी बालबालिकालाई खेल्नको लागि निकै उपकरणहरु राखिएका छन् । ठूलाको लागि स्वीमिङ्ग पुलको साथमा वाटर स्लाइडहरु पनि छन् । रिसोर्टभित्रै रेस्टुरेन्टको व्यवस्था भएकाले परिवारीक घुमघामका लागि दसैँको बेला गोकर्ण रिसोर्ट पनि एउटा गन्तव्य हुन सक्छ ।

तालतलैया, इटहरी ३ सुनसरी
सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको तालतलैया पछिल्लो समय निकै चर्चित आन्तरिक पर्यटकीय गन्तव्य हो । सामूहिक पिकनिक स्पटका साथै आन्तरिक पर्यटकहरु सपरिवार तथा साथीभाईसँगै पनि तालतलैयाको भ्रमण गरेर थकान मेटाउन सकिन्छ । तालतलैया पछिल्लो समयमा निकै चर्चित पर्यटकीयस्थल हो । सुन्दर नगरी इटहरी तथा तरहराबाट पनि सहजै तालतलैया पुग्न सकिन्छ । प्रदेश १ कै गौरवको पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तालतलैया दसैँमा भेला हुने परिवारसँगै घुन जानको लागि राम्रो गन्तव्य हो ।

बेतना सिमसार, बेलबारी मोरङ्ग
प्रकृतिसँग रमाउनेहरुका लागि राम्रो पर्यटकीय गन्तव्य हो बेलबारीमा रहेको बेतना सिमसार । सिमसार क्षेत्र जङ्गलको बीचमा रहेकाले पनि पछिल्लो समयमा निकै रमणीय र आकर्षणको केन्द्र बनेको छ बेतना । बेतना सिमसार पारिवारिक तथा साथीभाइ सँगको भ्रमणका लागि उपयुत्त गन्तव्य मानिन्छ । कोसीटप्पु वन्यजन्तु आरक्ष, सुनसरी
कोसीटप्पु वन्यजन्त आरक्ष एउटा पूर्वी तराईको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । सुनसरी, उदयपुर र सप्तरी जिल्लालाई छोएको यो आरक्ष केन्द्रभित्र लोपोन्मुख प्रजातिका अर्ना, तथा चराहरु पाइन्छन् । कोसीटप्पुमा १५९ वटा अर्ना रहेको आँकलन छ । कोसी टप्पुमा ४४१ प्रजातिका चराहरु रहेको बताइन्छ । पश्चिम र पूर्वी भाग सप्तकोसी नदीले घेरेको कोसीटप्पु वन्यजन्तु आरक्ष पर्यटकको लागि राम्रो गन्तव्य पनि हो । सप्तकोसीमा ८० भन्दा बढी प्रजातिका माछाहरुसमेत पाइन्छन् ।

रामधुनी मन्दिर, रामधुनी नगरपालिका सुनसरी
रामधुनी नगरपालिकामा पर्ने रामधुनीको मन्दिर र सँगै रहेको घना जङ्गल दसँैमा साथीभाइ र परिवारको राम्रो मनोरञ्जनको गन्तव्य हुन सक्छ । कतिपयले त दसैँलाई त्यही जङ्गलमा गएर फायर क्याम्प चलाउने, बारबिक्यु गर्नेजस्ता गतिविधि गरेर दसँैलाई सम्झन लायकको बनाउने गरेको पाइन्छ । धार्मिक दृष्टिकोणले पनि रामधुनी मन्दिरको आफ्नै महत्व रहेकोले यो पनि पारिवारिक घुमघामको लागि उत्तम गन्तव्य बन्न सक्छ ।

इलामको चिया बगान
इलामको चिया बगान एक पटक सबैले घुम्नैपर्ने गन्तव्य हो । इलामको कन्याम अझै पर्यटनको हिसाबले उत्कृष्ट गन्तव्य मानिन्छ । झापाको चारआलीबाट उत्तरतिर लागेपछि सर्पजस्तै घुमेको बाटोमा घुम्दै यात्रा गर्नुको आनन्द अर्कै हुन्छ । त्यहाँमाथि चिसो चिसो मौसममा गाडीको झ्यालबाट बाहिर हेर्दाको स्वर्गीय आनन्द त छँदै छ । हरियाली चिया बगानले ढाकिएको इलाम अनि त्यहाँ देखिने साना साना डाँडाकाडाँहरु दसैँको बिदालाई सदुपयोग गर्दै पारिवारिक घुमघामको लागि उत्कृष्ट गन्तव्य हो ।

ओसन पार्क एण्ड रिसार्ट, इटहरी सुनसरी
ओसन पार्क इटहरीमा रहेको वाटर स्पोर्टसको लागि कहलिएको पार्क हो । पानीमा खेल्न मिल्ने र परिवार नै खेल्न मिल्ने भएकोले दसैँमा भएको जमघटसँगै रमाइलो गर्न चाहनेहरुका लागि यो पनि एउटा गन्तव्य हुन आउँछ । इटहरीबाट दक्षिणतर्फ विराटनगरलाइनमा रहेको साथी फ्युल सेन्टरनजिकै रहेको यो पार्क साथीभाइबीच जमघट र पानीसँगै खेल्न र रमाउनको लागि राम्रो मानिन्छ । स्वीमिङ्ग पुल, हेल्थ क्लबका साथमा खाना र नास्ताको लागि समेत राम्रो व्यवस्था रहेको ओसन पार्कमा स्वीमिङ्ग, वाटरपार्क, जिमहल र होटल तथा रिसोर्टसमेत रहेका छन् । सबैको फरक फरक शुल्क निर्धारण गरिएको छ ।

के भन्छन् पर्यटन व्यवसायीहरु
जीवन पराजुली
अध्यक्ष  
होटल व्यावसायी संघ इटहरी
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली कोरोनाले थिलथिलो बनाएको पर्यटन क्षेत्रलाई यसपालिको दसैँले राहत दिने अपेक्षा राख्छन् । पश्चिम नेपालमा पर्यटकहरु यसपालि पूर्वका पर्यटकीय गन्तव्यमा आउन धमाधम होटल बुक गरिरहेको बताउँदै पराजुलीले यसपालिको दसैँले पूर्वका पर्यटकीय गन्तव्यलाई उर्जा थपेको प्रतिक्रिया दिन्छन् । धरान, भेडेटार , तथा इलाम र ताप्लेजुङ्गसम्मको भ्रमणमा निस्केको पर्यटकले पनि केन्द्रविन्दुको रुपमा इटहरीको होटल बुक गर्ने भएकाले इटहरीका होटलमा पर्यटकको चाप बढ्ने आँकलन रहेको हामीसँगको कुराकानीमा उनले बताएका छन् । शक्तिपीठमा आस्था राख्ने पर्यटकहरु ताप्लेजुङ्गको पाथीभरा, धरानका विभिन्न शत्तिपीठका साथै झापाका धार्मिक क्षेत्रहरु र खोटाङ्गको हलेसीजस्ता ठाउँमा घुइँचो नै लाग्ने भएकाले टिका थापेर धार्मिक क्षेत्रको घुमफिर गर्ने पर्यटकलाई पूर्वका पर्यटन व्यवसायीले स्वागत गर्न आतुर भएर बसेको पराजुली बताउँछन् । पूर्व क्षेत्रको पर्यटकीय गन्तव्यमा आउने पर्यटकको लागि सुरक्षाको हिसाबले पनि इटहरी केन्द्र रहेकाले इटहरीका होटलमा दसँैलक्षित बुकिङ्ग बढेको पराजुलीको भनाइ छ । सामुदायिक वन क्षेत्रहरुले समेत राजमार्गलक्षित पर्यटकहरुको सुविधाको लागि पार्क, मनोरञ्जनस्थलजस्ता क्षेत्रको विकास गरेकाले पनि पूर्वी नेपाल पर्यटकको राम्रो गन्तव्य हुने अध्यक्ष पराजुलीको भनाइ छ ।

नितेश पोख्रेल
प्रमुख कार्यकारी अधिकृत
द प्राइड हस्पिटालिटी
कोरोनाको कारणले थिलथिलो भएको पर्यटन व्यवसायलाई दसैँले केही मात्र भएपनि खुट्टा टेकाउँदै गएको प्राइड हस्पिटालिटीका सीईओ नितेश पोख्रेल बताउँछन् । सुविधाको हिसाबले महङ्गा पाँचतारे होटलभन्दा २ तारे र तीन तारे होटलमा दसैँलक्षित पर्यटकहरु बस्ने र अहिलेको बुकिङ्ग हेर्दा सन्तोषजनक रहेको पनि पाख्रेलको भनाइ छ । त्यसो त कोरोनापछि २० प्रतिशतको अकुपेन्सीमा खुलेको इटहरीको गोरखा होटलमा अहिले ८० प्रतिशतको अकुपेन्सी रहेको र दसैँलक्षित बुकिङ्ग पनि राम्रो आइरहेको उनले बताए । दसैँको सिजन सुरु भएलगत्तै इटहरी नजिकैको पर्यटकीय सुन्दरहरैँचाको गोकर्ण रिसोर्टमा पनि स्वीमिङ्ग पुलहरु भरिभराउ भएको पोख्रेल बताउँछन् । गोकर्ण रिसोर्ट र वाटरपार्कसँगै खुल्ने तयारीमा रहेको त्रिवेणी रिभर साइड रिसोर्ट पनि द प्राइड हस्पिटालिटीले म्यानेज गर्न थालेको छ । त्यसैगरी, झापामा रहेको किङ्गबेरी होटलले पनि राम्रो पर्यटकीय स्वागत गरिरहेको बताइएको छ । दसैँको अवसर भएपनि पूर्ण रुपमा अन्तराष्ट्रिय उडान नखुलेका कारण विदेशी पर्यटक नआएको अवस्थामा ठूलो सञ्चालन खर्च बोकेका पाँच तारे होटलहरुमा भने त्यत्ति भिड नभएको पाइन्छ ।

पूर्वमा गोरखालाई राम्रो तथा सुविधासम्पन्न होटल बनाउन गोरखा होटलका सञ्चालक बलराम आचार्यको ठूलो हात रहेको र इटहरीलाई हब बनाएर आउने पर्यटकलाई गोरखाले दसँैको अवसरमा रुम रेटमा २० प्रतिशत छुट साथै रेस्टुरेन्टमा आउने ग्राहकलाई १५ प्रतिशत छुट दिने गरेको प्राइड हस्पिटालिटीका पोख्रेल बताउँछन् । प्राइडले इटहरीलाई केन्द्र बनाउनेगरी आउने पर्यटकलाई काठमाडौँ इटहरी धरान, काठमाडौँ इटहरी इलामजस्ता इटहरीलक्षित प्याकेज चाँडै नै ल्याउने बताइएको छ । प्राइड हस्पिटालिटीले म्यानेज गरिरहेको गोरखा होटलले ३ वटा रुम लिए १ वटा रुम फ्रि दिने कार्यक्रम पनि दसैँको अवसरमा ल्याएको छ । प्राइड हस्पिटालिटीले प्राइड क्लिक नामको होटल बुकिङ्ग साइट पनि भर्खरै मात्र लन्च गरेको छ ।