इटहरीः कोरोना महामारीका कारण दसैँको रौनक जति हुनुपर्ने हो त्यति कुनै क्षेत्रमा पनि देखिँदैन ।
सबै क्षेत्र सुस्ताएको बेला उद्योगधन्दाहरु पनि फस्टाउने कुरै भएन । त्यसै पनि यसपालिको दसैँमा मोरङ्ग सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यापारीहरुले यसपालिको दसैँ स्वदेशमै मनाउने भएका छन् । दसैँअघि नै आफूले घुम्ने देशको तालिका तयार गरेर दसैँको छुट्टी सुरु हुनासाथ यात्रामा निस्कने उद्योगीहरु यो पटकको दसैँमा भने विदेशको यात्राको तयारीमा छैनन् । यो वर्षको दसँैलाई उनीहरु पनि परिवारसँग बसेर मिठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि मुलुक भित्रकै पर्यटकीय स्थानमा गएर परिवारसँग रमाउने योजना बनाएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घर परिवारसँग बसेर रमाइलो गरेर नै दसैँ मनाउने योजनामा छन् । अघिल्ला वर्षहरुमा बाबुआमासँग आशीर्वाद लिएर मनाउने गरेपनि बाबुआमाको स्वर्गारोहण भएपछि छोराबुहारी र परिवारका अन्य सदस्यहरुसँग दसैँ मनाउने अनि मुलुक भित्रकै पर्यटकीय क्षेत्रमा घुमघाम गर्ने योजना उनले बनाएका छन् । घरमै दसैँमा दुर्गा माताको उपासना गरेर मनाउने योजनामा रहेका राउत विदेश भ्रमण भने नजाने गरेको बताउँछन् ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेको यो पटकको दसैँ सुनसरीको चक्रघट्टीमा बित्ने भएको छ । घिमिरे यसपालिको दसैँमा आफ्नो गाउँको घरमा गएर पुराना साथीभाइ भेटघाट गरी रमाइलो गर्ने योजनामा छन् । पहिलाका वर्षहरुमा अमेरिका लगायतका मुलुक घुमेर दसैँको बिदाको सदुपयोग गर्ने घिमिरे यो पटक आन्तरिक पर्यटनको विकासका लागि घुमघाम गर्ने योजनामा छन् । फुर्सदमा भान्सामा पसेर मिठो परिकार पकाउने सोख भएका उनी यो पटक घर परिवारलाई नयाँनयाँ परिकार बनाएर खुवाउने योजनामा रहेको बताउँछन् ।
पोहोर परारको दसैँमा लामो छुट्टि लिएर विदेशतिर घुम्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा यसपालि कोरोनाको कहरका कारणले नेपालमै विराटनगर र काठमाडौँमा परिवारसँग बसेर दसैँ मनाउने योजना बनाएका छन । नवरात्रिको सुरुआतमा घरमा घटस्थापना गरेर परिवारसहित दैनिक माता दुर्गाको उपसना गर्ने र दशमीको दिन दुर्गा विसर्जन गरी परिवारका साथ रमाइलो गर्ने योजना उनको छ । मुन्दडा यो पटक परिवारका साथ ताप्लेजुङमा रहेको पाथीभरा माताको मन्दिरमा दर्शन गर्न जाने योजनामा छन् ।
त्यसैगरी, अर्का उद्योगी एवम् उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले यो पटकको आफ्नो दसैँको छुट्टिलाई पोखरा, घान्द्रुक लगायतका पर्यटकीय क्षेत्रमा गएर पैदल यात्रा गरेर मनाउने योजनामा छन् । उनले बाहिरबाट आफ्ना माहिला भाइ शिरज प्याकुरेलसमेत दसैँ मनाउन अघिल्ला वर्षहरुमा झँै आउने भएकाले परिवारका अन्य सदस्यहरुसहित नेपाल भित्रकै पर्यटकीय क्षेत्रहरु घुम्ने र अवलोकन गर्ने योजना रहेको बताउँछन् । आफ्ना बच्चाहरुसमेतलाई पर्यटकीय क्षेत्रहरु तथा देशका ग्रामिण परिवेशको बारेमा जानकारी गराउने प्याकुरेलको योजना रहेको छ । कोभिडको कहर नसकिएकाले यसपालिको दसैँमा आन्तरिक पर्यटक बनेर आफ्नै देशको पर्यटनलाई थोरै भएपनि टेवा पुर्याउने प्याकुरेलको योजना रहेको छ ।
अर्का व्यक्तित्व विराट व्यापार संघका अध्यक्ष सुजन थापा भर्खरै भारत भ्रमण सकेर आएका छन् । उनको पनि यो पटकको दसैँ आफ्नै घरपरिवारसँग मनाउने योजना छ । परिवारसँग रमाइलो गर्ने र उनीहरुसँग नै यो पटकको दसैँ मनाउने योजना रहेको उनले सुनाए । कोरोनाको कारण सबैमा एक किसिमको त्रास व्याप्त रहेको र केही समयदेखि नेपालमा कोरोनाको प्रभाव घटिरहेकाले सजग हँुदै दसैँ मनाउन थापाको आग्रह छ । देशमा सृजना भएको पैसालाई देशकै पर्यटन उद्योग फस्टाउने गरी आन्तरिक पर्यटकको रुपमा घुमघाम गरी दसैँ मनाउने उद्योगी व्यवसायीको योजनाले देशको आन्तरिक पर्यटनलाई टेवा पुग्नुका साथै देशलाई चिन्ने अवसरसमेत प्राप्त हुने धेरैजसो उद्यमीहरुको भनाइ छ ।