इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक थुनुवाको हिरासतमै मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त बनेको छ ।
प्रहरीले हिरासतमा थुनुवाको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले जवाफमा प्रहरीले पनि बल प्रयोग गरेको थियो । दोहोरो झडपका क्रममा प्रहरीका तर्फबाट १२ सेलभन्दा बढी अश्रुग्याससमेत प्रहार भएको थियो । प्रदर्शनकारीहरूले लोकतान्त्रिक चौकमा टायर बाली नाराबाजी गर्दै प्रदर्शन गर्नुका साथै बजार पसल यातायात समेत बन्द गराएका छन् । पूर्वपश्चिम राजमार्गको महेन्द्र चोक, बस स्टेण्ड लगायतका क्षेत्रमा समेत टायर बाली यातायात ठप्प पारेका हुन् । प्रहरी हिरासतमा रहेका भोक्राहा नरसिंह ५ टपराका मोहम्मद हकिम साहको प्रहरीले सुनियोजित रुपमा हत्या गरेको स्थानीय तथा मृतकका आफन्तहरुको आरोप छ ।
प्रहरीले भने मृतकले हिरासतमै आत्महत्या गरेको दाबी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले साहले अदालतमा पेस गरिनुअघि आज बिहान हिरासतको ढोकामा झुन्डिएको सीसीटीभी फुटेजबाट प्रष्ट भएकाले साहको प्रहरीले हत्या गरेको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् । यद्यपि, घटनाको विस्तृत छानबिन हुने उनको भनाइ छ । मृतक साह अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका थिए । अन्तरजातीय प्रेम सम्बन्धका कारण एक युवतिका अभिभावकले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाएको बताउँदै हिरासतमा अभियुक्तको मृत्यु हुनु षड्यन्त्रपूर्ण घटना भएको आरोप लगाएको हो ।