इटहरीः भोजपुरको रामप्रसादराई गाउँपालिका–१ चामबोटेमा मार्ने नियतले श्रीमतिमाथि बन्दुक ताकेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय सुजिल राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ परेका अभियुक्तका साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको छ । शुक्रबार राति ८ः१५ बजे घरायसी विवादका क्रममा अभियुक्तले आफ्नी ४५ श्रीमति जुना राईलाई बन्दुक ताकेर मार्ने धम्की दिएका हुन् । त्यस क्रममा अभियुक्त राईले श्रीमतिलाई कोदालोले दाहिने पट्टिको नाकको छेउमा प्रहारसमेत गरेको प्रहरीले जनाएको एसपी राईले बताए ।
अभियुक्त राईउपर पटकपटक बन्दुक ताकेर श्रीमतिलाई मार्ने धम्की दिएको आरोप छ । घटनापछि गहिरो चोट लागेर घाइते भएकी श्रीमति जुनालाई उपचारार्थ स्थानीय मेडिकलमा पठाई अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अभियुक्तउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।