इटहरीः विराट न्यूज नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको प्रथम विराट मिडिया कप फुटबल आजबाट सुरु भएको छ ।

पत्रकारहरुबीच खेलको माध्यमबाट सम्बन्ध विस्तार गर्ने हेतुका साथ आयोजना गरिएको मिडिया कप आजबाट सुरु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) अरुणकुमार बीसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्था र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । आगामी असोज २६ गतेसम्म हुने यस प्रतियोगितामा प्रदेश १ का ९ टिमको सहभागिता रहेको छ । यस खेलमा प्रथम हुनेले नगद ३० हजारसहित सिल्ड र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले नगद १५ हजारसहित सिल्ड र मेडल प्राप्त गर्ने छन् । उद्घाटन समारोहसँगै आज एक खेल भएको छ ।

पहिलो खेलमा ग्रामिण पत्रकार समुह बराहक्षेत्र र उद्घोष राष्ट्रिय दैनिक विराटनगरले प्रतिस्पर्धा गरेका थिए ।  पहिलो खेल २–० गोल अन्तरले ग्रामिण पत्रकार समुह बराहक्षेत्रले जितको छ । बराहक्षेत्रलाई जिताउन दुवै गोल विजयकुमार राउतले गरेका थिए । दुवै गोल गरेका राउत म्यान अफ दि म्याच घोषित भएका छन् । उनले होटल इन टुरिस्टले प्रादन गरेको नगद एक हजार प्राप्त गरे । मिडिया कपमा भोलि दुई खेल हुनेछन् । दिउँसो १ बजे आयोजक विराट टेलिभिजन र आजको विजेता बराहक्षेत्रले प्रतिस्पर्धा गर्नेछ भने दोश्रो खेल दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सुर्योदय टेलिभिजन बिर्तामोडले प्रतिस्पर्धा गर्नेछन् ।