इटहरीः संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भोलि हुने भनिएको इटहरी आगमन स्थगित भएको छ । पार्टीको इटहरी नगर कमिटिको आयोजनामा हुने सुनसरी जिल्लाभरका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न ओली आउन लागेकोमा अचानक उनको भ्रमण रद्द भएको नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले जानकारी दिए । उनका अनुसार पार्टीको भर्खरै सम्पन्न पार्टीको विधान महाधिवेशनपछि पहिलो सम्बोधनका लागि ओली इटहरी आउने कार्यक्रम रद्द भएको हो । ओली नआउने भएपछि भोलिका लागि तय भएको सुनसरी जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला पनि रद्द भएको नगर अध्यक्ष सुब्बाले जानकारी दिए ।

244544171_598627614509220_1316389713057780485_n

तर पार्टीका स्थानीय अग्रज नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रम भने पूर्वनिर्धारित तालिका अनुसार नै सम्पन्न हुने भएको छ । नेता कोइरालाको निःस्वार्थ राजनीतिक यात्राको कदर गर्दै डेढ वर्षअघि नै नागरिक समाज इटहरीको अगुवाइमा नागरिक अभिनन्दनको कार्यक्रम तय भएतापनि कोरोना महामारीका कारण सफल हुन सकेको थिएन । सोही कार्यक्रमलाई भोलि संघीय संसदको प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा मुर्त रुप दिने तयारी गरिएको नगर अध्यक्ष सुब्बाले जानकारी दिए । उक्त अवसरमा नेता कोइरालाद्वारा लिखित तीन ओटा पुस्तकहरुसमेत लोकार्पण गरिने कार्यक्रम रहेको छ । कोइरालाको अभिनन्दन इटहरी २ को हवाइ चौकस्थित उनकै निवासमा हुनेछ । 244570228_4348249841926854_1152465239803065086_n