इटहरीः बुद्धभूमि नेपाल हाइड्रोपावरले निष्कासन गरेको साधारण शेयर (आईपीओ)को शुक्रबार बाँडफाँट गरिएको छ ।
बुद्धभूमिको आईपीओमा गोलाप्रथामार्फत् ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले शेयर भाग लागेको छ भने बाँकी आवेदकको हात खाली भएको छ । बुद्धभूमिको आईपीओमा कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिने २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । कम्पनीले कुल ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
यसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ । आईपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।