इटहरीः नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलका नेता इन्द्र आङबोले मुख्यमन्त्री भीम आचार्यले लाज पचाएर दसैं मनाउन खोजेको आरोप लगाएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गर्ने उद्देश्यले नै आजका लागि आह्वान गरिएको प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रस्ताव दर्ता नगराएर आफ्नो आयु लम्ब्याउने रणनीतिमा मुख्यमन्त्री आचार्य लागेपछि आङ्बोले यस्तो आरोप लगाएका हुन् । ‘संसद् सचिवालयमा प्रस्ताव दर्ता भएको दुई दिनपछि सदनमा पेस गर्नुपर्ने प्रावधान छ,’उनले भने,‘असोज २५ गतेपछि सरकारलाई संविधानले चिन्दैन, २५ गते भित्र विश्वासको मत नलिए प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुपर्छ ।’
प्रदेशसभा सञ्चालन नियमावली अनुसार संसद् सचिवालयमा दर्ता भएको दुई दिनपछि प्रस्ताव सदनमा टेवल हुने व्यवस्था भएको र २६ गतेबाट दसैँ बिदा सुरु हुने निश्चित रहेकाले प्रस्तावउपर दसैँपछि मात्र छलफलको प्रकृया सुरु हुनेगरी मुख्यमन्त्री आचार्यले प्रस्ताव ढिलो दर्ता गराउन लागेका हुन् । मुख्यमन्त्री आचार्य आफ्नो कुर्सी बचाउने कसरतमा लागिरहेका बेला प्रतिपक्षी दलहरु भने उनीविरुद्ध प्रदेशप्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएर भएपनि उनलाई दसैँअघि नै कुर्सीबाट हटाउने रणनीतिमा रहेका छन् । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।