इटहरीः १ नम्बर प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको नवौँ अधिवेशनको बैठक आज अपराहन्न २ः०० बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिवेशनको मुख्य उद्देश्य मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव दर्ता गराउने रहेको भएपनि प्रस्ताव भने आज दर्ता नहुने भएको छ । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परिसकेकाले उनलेविश्वासको मत नपाउने निश्चित छ । यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा छन् । आजको प्रदेशसभा बैठक तीन करोड नौ लाख लागतमा तयार गरिएको प्रदेशसभाको नयाँँ भवनमा बस्न लागेको छ । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ ।

मुख्यमन्त्री आचार्य आफ्नो कुर्सी बचाउने कसरतमा लागिरहेका बेला प्रतिपक्षी दलहरु भने उनीविरुद्ध प्रदेशप्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएर भएपनि उनलाई दसैँअघि नै कुर्सीबाट हटाउने रणनीतिमा रहेका छन् । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।