इटहरीः प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभामा प्रस्ताव दर्ता नगर्ने भएका छन् ।

दसैँअघि विश्वासको मत लिनुपर्ने अवस्था टार्न कसरत गरिरहेका मुख्यमन्त्री आचार्यले प्रस्ताव दर्तासमेत ढिलो गर्ने रणनीति लिएका हुन् । विश्वासको मत लिने प्रस्ताव दर्ता गराउने प्रयोजनकै लागि भनेर आजदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको भएपनि मुख्यमन्त्री आचार्य अनिच्छुक भएकाले आज प्रस्ताव दर्ता नहुने भएको हो । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आइतबार वा सोमबार मात्र विश्वासको मतका लागि प्रस्ताव दर्ता गराउने प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले जानकारी दिए ।

आजको प्रदेशसभा बैठक संसदीय दलका नेताहरुको सम्बोधनपछि सम्पन्न हुनेछ । ‘संसद्को कार्यसूची सभामुखले तयार गर्नुहुन्छ ,’ उनले भने,‘ विश्वासको मतका लागि प्रस्ताव आइतबार नभए सोमबार दर्ता हुन्छ ।’ प्रदेशसभा सञ्चालन नियमावली अनुसार संसद् सचिवालयमा दर्ता भएको दुई दिनपछि प्रस्ताव सदनमा टेवल हुने व्यवस्था भएको र २६ गतेबाट दसैँ बिदा सुरु हुने निश्चित रहेकाले प्रस्तावउपर दसैँपछि मात्र छलफलको प्रकृया सुरु हुनेगरी मुख्यमन्त्री आचार्यले प्रस्ताव ढिलो दर्ता गराउन लागेका हुन् । प्रदेशसभा बैठकअघि बिहान ११ः३० बजे सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको नेकपा एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।