इटहरीः मोरङ जिल्ला कारागार प्रशासनले कारागारका चौकीदार (नाइके) नवीन राईलाई क्षेत्रीय कारागार झुम्का पठाएको छ ।

स्थानान्तरणको निर्णय भएको १ महिनापछि उनलाई सोमबार मात्र स्थानान्तरण गरिएको हो । उनको ठाउँमा अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई ल्याउने तयारीस्वरुप राईको सरुवा गरेको कारागार प्रशासनले गिरीलाई ल्याउने काम भने हाललाई स्थगित गरिएको बताएको छ । गिरी यसअघि पनि मोरङ कारागारको नाइकेका रुपमा बसिसकेका व्यक्ति हुन् । एक व्यक्तिलाई एउटा कारागारबाट सरुवा गरेपछि सोही कारागारमा नल्याइने परम्पराविपरीत सत्ताधारी दल नेपाली कांग्रेसको दबाबमा गिरीलाई पुनः विराटनगर ल्याउन लागिएको स्रोतले बताएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौति असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

Abhishek-Giri-Saruwa

 

तर नेपाली कांग्रेससँग निकट रहेकै आधारमा गिरीलाई पुन विराटनगर सरुवा गर्ने निर्णय भदौ १७ गते भएको हो । गिरीसँगै उनैलाई सहयोग पुग्नेगरी सरकारले अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज काकीलाई पनि विराटनगर सार्ने निर्णय गरिदिएको छ । गिरीको चरम यातनाबाट पहिले नै पीडित बनेका कारागारका कैदीबन्दीहरुले भने उनलाई कारागारमा नल्याउन भनिरहेका छन् । मंगलबार कैदीबन्दीका आफन्तहरुले गिरीको विराटनगर सरुवा रोक्न माग गर्दै आन्दोलनसमेत गरेका थिए । यद्यपि, सरकार भने सरुवा स्थगित मात्र गरेर स्थिति साम्य पारी मौका पर्नासाथ गिरीलाई नै नाइके बनाएर पठाउने रणनीतिमा देखिन्छ । हाललाई भने मोरङ कारागारको नाइकेका रुपमा हत्या मुद्दाका कैदी किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए ।