इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा अवस्थित दन्तकाली शक्तिपीठमा जमरा राख्नेको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदामा दिन हिन्दू धर्मावलम्वीहरुले घरको शुद्ध ठाउँ र शक्तिपीठमा गएर जमरा राख्ने धार्मिक परम्परा रहिआएको छ । सोही परम्परालाई आत्मसात गर्दै दन्तकालीमा कोरोना कहरकै बीचमा मानिसहरु जमरा राख्न पुगेका हुन् । दन्तकालीमा धरानसँगै छिमेकी पालिकाबाट पनि जामरा घरमा जमरा राख्न आउने गर्छन् । ‘पहिलेदेखि नै हामी यहीँ जमरा राख्दै आएका छौँ’, जमरा राख्न आएकी सुनिता मगरले भनिन्, ‘घरमा मार हानिन्छ, अशुद्ध हुन्छ भनेर यहीँ नै जमरा राखेका हौँ ।’ उनले आफ्ना बुबाको पालादेखि नै जमरा दन्तकालीमा राख्दै आएको जानकारी दिइन् । उनीजस्तै धेरै यहाँ जमरा राख्न आउने गर्दछन् । सामूहिक जमरा राख्ने हुँदा यहाँ जमरा साट्टिने खतरालाई ध्यान दिँदै मन्दिर व्यवस्थापन समितिले नम्बर टाँसिदिने गरेको छ ।
अघिल्ला वर्षमा जस्तो घुइँचो भने यो वर्ष देखिएको छैन । ‘यहाँ जमरा राखेको झण्डै १८÷१९ वर्ष भयो’, जमरा राख्न आएक एक जेष्ठ नागरिक चन्द्रप्रसाद भट्टराईले भने, ‘यो दसैँमा मज्जाले टिका लगाएर जमरा लगाउने भनेर राखेको । देवीको भक्ति, शक्तिको लागि प्रार्थना गर्दै राखेका छौँ ।’ उनले यहाँ राखेको जमरा घरको भन्दा शुद्ध हुने विश्वास रहेको जानकारी दिएका छन् । नवदुर्गालाई प्रिय लाग्ने मध्येको एक जमारा रहेको दन्दकालीका पूजारी कमल भट्टराईले जानकारी दिएका छन् । सोही कारण देवीलाई प्रफुल्लित पार्न जमारा राख्ने र दशमीका दिन टिका र आशीर्वादसँगै जमरा लगाउने परम्परा रहेको उनले जानकारी दिए । ‘घटस्थापनाको दिन देवी मन्दिर र शक्तिपीठमा जमरा राखेर दशमीपर्यन्त त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ’, मन्दिरका पूजारी भट्टराईले भने, ‘धरैले देवी मन्दिरमा नै घटस्थापना गर्नुपर्ने भन्दै आउनुहुन्छ । यो पूर्वाञ्चलमा नै प्रख्यात छ । यहाँ टाढा टाढाबाट आएर पनि जमरा राख्ने गर्नुभएको छ ।’