इटहरीः मोरङको पथरीशनिश्चरेमा एक वृद्ध महिलामाथि सांघातिक आक्रमणसँगै लुटपाट भएको छ ।

आक्रमणमा पर्नेमा पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार चौपायालाई पानी दिन घरबाट निस्किएकी महिलालाई परिवारका सदस्यले हिजो अपराहन्न ४ः३० बजे घरबाट दुई सय मिटर पर अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भएर लडिरहेको अवस्थामा फेला पारेका थिए ।

आक्रमणबाट महिलाको आँखा, निधार नाक, मुख, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै टाउकोमा रगत जमेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको प्रवक्ता राईले उल्लेख गरे । महिलाले लगाएका करिब १ तोला सुनबाट बनेका नाक र कानका गहना आक्रमणकारीले लुटेर लगेको प्रहरीको अनुमान छ । घटनामा संलग्न कुनै पनि व्यक्तिलाई हालसम्म पक्राउ गर्न नसकेको प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखी अभियुक्तको खोजीकार्य तिव्र पारिएको जानकारी दिएको छ ।