इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १६ लायन्स चौकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभाको चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन विक रहेका छन् । हिजो राति ११ः१५ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भट्टराई र विकको उपचारको लागि न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुरको मनहरि नगरपालिका ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।