इटहरीः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन सुरु भई कोजाग्रत पूर्णिमा दिन समाप्त हुने हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

बडादसैँको पहिलो दिन आज दसैँघरमा विधिपूर्वक घटस्थापना गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

2078-Dashain-Sait

 

असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा मनाइने बडादसैँका अवसरमा सातौँ दिन अर्थात् फूलपातिदेखि विजयादशमी अर्थात् टिकाको दिनसम्म विभिन्न शकितपीठहरुमा बलिसमेत दिने परम्परा प्रचलित छ । यस वर्षको घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।