इटहरीः आफूलाई क्विन्सल्यान्ड एजुकेसनल फाउन्डेसनको सञ्चालक बताउँदै अध्ययनका लागि अस्ट्रेलिया पठाइदिने प्रलोभन दिई हुम्लाका एक विद्यार्थीसँग १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं. १० मध्यबानेश्वर बस्ने ४१ वर्षीय मणि निरौला रहेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौँले जनाएको छ । महाशाखाका अनुसार अभियुक्त निरौलाले म्याग्दीको मङ्गला गाउँपालिका १ बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ असुल गरेका थिए ।

पैसा उठाइसकेपछि कन्सल्टेन्सी बन्द गरेर सम्पर्कविहीन भएका निरौलाविरुद्ध पीडित खत्रीले जाहेरी दिएपछि प्रहरीले हिजो निरौलालाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त निरौलालाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ ।