इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट सशस्त्र प्रहरी बलको गस्ति टोलीले ठूलो परिमाणमा मानवकङ्काल बरामद गरेको छ ।
गएराति ८ः०० बजे को२च ९६४८ नम्बरको भ्यानबाट २८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी इटहरीले जनाएको छ । बाहिनीका अनुसार भ्यानका चालक भने फरार भएकोमा उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय तथा चिकित्सकको टोलीले बरामद भएका हड्डी मानवकङ्काल भएको पुष्टि गरेपछि सशस्त्र प्रहरी बलले सबै कङ्काल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । परीक्षण गर्नेदेखि लिएर घटनाको थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन बरामद भएको वस्तुको नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले बताए । प्रारम्भिक अनुसन्धानबाट मानव खप्पर र मान्छेकै खुट्टा एवम् हातको नली हड्डी रहेको निस्कर्ष निकालिएको गिरीले उल्लेख गरे ।