इटहरीः होटल तथा हस्पिटालिटी म्योनमेन्ट कम्पनी प्राइड हस्पिटालिटीले आफ्नो नयाँ प्रोडक्ट प्राइड क्लिक सार्वजनिक गरेको छ ।

कुनाकन्दरा जहाँ बसेर पनि एक क्लिकको भरमा होटल बुक गर्न सकिने भन्दै प्राइड हस्पिटालिटीले ल्याएको प्राइड क्लिक गत शनिबार इटहरीको गोर्खा होटलमा आयोजिक पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । कार्यक्रममा आफूले ल्याएको नयाँ प्रोडक्टको बारेमा बोल्दै प्राइड हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नितेश पोख्रेलले प्राइड क्लिक नामको एप निर्माणको अन्तिम चरणमा रहेको बताए । एण्ड्रोइडमा एपको काम लगभग सकिएको र चाँडै एपमार्फत् एक क्लिक गरेको भरमा होटल बुक गर्न सकिने पोख्रेलले पत्रकार सम्मेलनमा बताए । प्राइड क्लिक नेपाली डेभलपरले ल्याएको एप भएकाले कम मार्जिनमै होटलहरुले बुकिङ्गको सेवा लिन सक्ने प्राइडले बताएको छ । प्राइड क्लिकमा अहिलेसम्म ८० वटा होटल समावेस भइसकेको बताउँदै प्राइड क्लिकका अध्यक्ष नितेश पोख्रेलले आफ्नो टार्गेट नेपालका सबै होटललाई समावेस गराउने रहेको बताए ।

प्राइडले प्राइड क्लिकमा समावेस हुन चाहने होटलहरुलाई एक वर्षसम्म निःशुल्क इन्रोल हुन सक्ने बताएको छ भने प्राइड क्लिकबाट होटल बुक गर्ने ग्राहकलाई भने जति बढी एपबाट बुक गर्यो, त्यत्ति धेरै रिवार्ड पोइन्ट दिने र त्यो पोइन्टलाई फुड एण्ड बेभरेजमा डिस्काउन्ट दिने, साथै पोइन्ट रिडिम गरेर फ्रिमै कोठा दिने तथा छिटो चेक इन र ढिलो चेक आउट, स्पामा छुट लगायतका सुविधा दिने प्राइडले बताएको छ । नेपाली लगानीबाट सञ्चालित एपमा आफूहरु पहिलो भएको दाबी गर्दै कार्यकारी निर्देशक पोख्रेलले कोभिड महामारीलाई लक्ष्यित गर्दै प्राइड क्लिक ल्याएको र यसमा होटल बुक गर्दा इसेवा तथा अन्य डिजिटल भुक्तानीको प्रयोग गर्न सकिने भएकाले सहज र सरल ढङ्गबाट आफूले चाहेजस्तो वा रोजेजस्तो होटल बुक गरेर बस्न सकिने बताए ।

प्राइड क्लिकका निर्देशक रमन कुँवर रहेका छन् भने यसको विकास र प्रवद्र्धन लङ्गटेल इ मिडियाले गरेको जनाइएको छ । प्राइडले नेपाली र विदेशी दुवैलाई सहज हुनेगरी एपलाई नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा उपलब्ध गराउने प्राइड हस्पिटालिटीकी जमुना ढुङ्गानाले बताइन् । सेप्टेम्बर महिनाको १५ तारिखमा प्राइडले आफ्नो प्रोडक्ट प्राइड क्लिकको लन्च गरेको भएपनि शनिबार मात्रै यसको घोषणा गरेको थियो । प्राइडले पूर्वी नेपालका ८ वटा होटलको व्यवस्थापन गरीरहेको छ भने चाँडै नै काठमाडौँ र पोखरामा आफ्ना नयाँ होटलहरु आउन लागेको प्राइडले जनाएको छ ।