इटहरी: इटहरीको लविपुरमा रहेको भाटभटेनी सुपर स्टोरबाहिर एक हुल केटाकेटी भेटिन्छन् । बिहान ८ बजेदेखि बेलुकासम्मै त्यही ठाउँमा यताउति कुदिरहने यी बालबालिकालाई हेर्दा लाग्छ, उनीहरु केही पाउनको लागि लडाइँ गर्दै छन् । त्यसैले भिडमा तँछाडमछाड गर्दै लम्किरहन्छन् । कुनै गाडी भाटभटेनी छेउ रोकियो कि त त्यतैतिर लम्किन्छन् । कोही सिटी सफारीतिर आँखा लगाउँछन् त कोही इटहरी इनरुवा कुद्ने म्याजिक भ्यानतिर । उनीहरु सबैको एउटै ध्येय भनेको माक्स बेच्नु हो । सबैका हातमा माक्सको प्याकेट झुण्डिएको हुन्छ ।
कारोनाकाल बिस्तारै पन्छिँदैछ, या त मान्छेको सामाजिक आवश्यकताले पनि कोरोनाकाललाई जबरर्जस्ति पन्छाउँदैछ । तर अझै पनि भाइरस सर्ने र सार्ने डरमा सावधानी अपनाउने काम हामी सबैले गरी नै रहेका छौँ । सार्वजनिक ठाउँ भीडभाडको क्षेत्र भएको कारणले पनि सुपरमार्केटहरुले बिनामाक्स प्रवेश गर्न दिएका छैनन् । तर समाजले कोरोनालाई त्यत्ति महत्व दिएर स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । त्यसैले पनि यी स्कुले बालबालिकाहरु विद्यालय जाने उमेरमा कोरोना विरुद्धको लडाइँमा साथ दिइरहेका छन् । हुन त उनीहरु पैसा लिएर माक्स दिन्छन्, तर लाग्छ उनीहरु आफ्नो आवश्यकतासँग जुधिरहेका छन् । मोहम्मद मुर्तेज उमेरले ६÷७ वर्षकाझैँ लाग्छन् । तर विद्यालय बन्द भएकाले उनलाई पैसा कमाउने अवसर सृजना भएको छ । हामीले इटहरीको भाटभटेनीअगाडि ८ जना बालबालिकाको समूह भेट्यौँ । उनीहरु सबै त्यही ठाउँमा माक्स बेच्ने काम गर्छन्, त्यो पनि दैनिक रुपमा ।
इनरुवा नगरपालिका वडा नम्बर ७ का यी सबै बालबालिकाहरुको यो अहिलेको दैनिकीजस्तै हो । भाटभटेनीले माक्सबिना प्रवेश दिँदैन । आफु सुरक्षित रहन होस् या त अरुलाई सुरक्षित बनाउन, माक्स आवश्यक हुन्छ । त्यही भएर पनि यी बालबालिकाको माक्सको व्यापार राम्रैसँग फस्टाएको रहेछ । सोखत मिया कक्षा ३ मा पढ्छन् । तर मदरसामा पढ्ने गरेको बताउने सोखतले आफूले पढ्ने गरेको विद्यालयको नाम पनि प्रष्ट भन्न सकेनन् । सरकारी विद्यालयमा पढ्छु भनिरहे । कक्षा ३ मा पढ्ने सोखतले बुधबार मात्र एक हजार दुई सय रुपैयाँ कमाउन सफल भएका रहेछन् । सोखतसँगै रेशम खातुन, सिमरन खातुन पनि कक्षा ३ कै विद्यार्थी हुन् । उनीहरु कसैलाई पनि आफ्नो विद्यालयको नाम थाहा थिएन । साथमै भएका अर्का साथी सवदुल आलम भने कक्षा ८ का विद्यार्थी रहेछन् । सवदुलसँगै आउने यी सबै बालबालिका इनरुवा नगरपालिका वडा नम्बर ७ का रहेछन् ।
सवदुलका अनुसार उनीहरु जियावुल हक नाम गरेको मदरसामा अध्ययन गर्छन् । जियावुल हक मदरसामा भएका २ जना शिक्षकमध्ये एक जना गत सालदेखि विदेश गएका छन् । उनीहरुका अनुसार मदरसा बन्द भएको निकै लामो समय भएको रहेछ । अरु विद्यार्थीहरु त विद्यालय जान थालिसके त भन्ने प्रश्नमा उनीहरु भन्छन् “ हाम्रो त सरकारी हो, बन्द छ । ” एक प्याकेट माक्सलाई एक सय रुपैयाँ पर्छ जसमा ५० ओटा माक्स हुन्छन । यी स्कुले उमेरका बालबालिकाहरु एउटा माक्सलाई दश रुपैयाँका दरले बिक्री गर्छन् । यसरी गर्दा सरदर दैनिक ७ सय देखि १ हजार सम्म कमाइ गर्न सकिने यी बालबालिकाको भनाइ छ । इनरुवा नगरपालिकाकी उपमेयर जमुनादेवी गौतम पोख्रेलले बालबालिकाको विषयमा नगरपालिका सम्वेदनशील रहेको दाबी गरिन् । मदरसाहरु आफ्नै खुसीले सन्चालन हुने गरेकाले त्यसबारे भने आफू अनभिज्ञ रहेको बताउने पोख्रेलले इनरुवा नगरपालिका क्षेत्रका निजी तथा सरकारी विद्यालयहरु सञ्चालन भइरहेको उल्लेख गरिन् । कतिपय स्थानमा शिक्षाको अवस्था दयनीय रहेको र त्यसमा सुधारको आवश्यकता रहेको पोख्रेलले बताइन् ।