इटहरीः मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको ९० करोड रुपैयाँ बराबरको आईपीओ भोलि असोज २० गतेबाट निष्कासन हुने भएको छ ।

कम्पनीले पहिले चरणमा आयोजना प्रभावितका लागि शेयर निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अङ्कित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्दा ९० करोड बराबरको पूँजी थप हुन्छ । भोटेकोसीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन पेस गर्न सक्नेछन् । निष्कासन ९० लाख कित्ताको हुने भएकाले धेरैलाई शेयर पर्न सक्ने सम्भावना छ । आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते हुनेछ । उक्त अवधिमा पनि मागबमोजिम आवेदन नपरेमा ढिलोमा कात्तिक ३ गतेसम्म बिक्री खुला रहनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख ५ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । मध्य भोटेकोसीको आईपीओ निष्कासनकर्ता ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।