इटहरीः मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी तथा सो सुनका भरिया सनम शाक्यको हत्याका मुख्य योजनाकार गोरे भनिने चुडामणि उप्रेतिसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
जन्मकैद सजाय पाउने अन्य अभियुक्तहरुमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी रहेको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए । उनका अनुसार हत्या गर्न सहयोग गरेको अभियोगमा अन्य दुई अभियुक्तहरु पनि दोषी देखिएकोमा एक जनालाई तीन वर्ष र अर्कालाई ६ महिना कैदको फैसला भएको छ । हत्यामा सहयोग पुर्याउने राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।
जिल्ला अदालका न्यायाधीश भरत लम्सालको एकल इजलासले अभियुक्तहरुलाई सजायको आदेश गरेको हो । उर्लाबारी घर भएका भरिया सनम शाक्यको हत्या अभियोगमा मुद्दा चलाइएका ७७ जनामध्ये २१ जना अभियुक्त फरार रहेकाले उनीहरुको मुद्दा भने मुल्तबी राखिएको छ । सजाय पाएका आठ जनाबाहेक अन्य सबै अभियुक्तले सफाइ पाएका छन् ।२०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन गायब भएको थियो । सोही मुद्दाको अनुसन्धान गर्दै जाँदा ३३ किलो मात्र नभई ३३ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको थियो ।