काठमाडौँः नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ ।
नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो । यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मुत्र तथा मुत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ । यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् ।
छाति तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् । नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।