चितवनः चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ ।

भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरूप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छ । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन÷तीन लाख जरिवाना गरिएको छ ।

मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेसीलाई रु २० हजार र अपोलो डेन्टल क्लिनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए । मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरूलाई कारबाही गरिएको शर्माले बताए । चाडपर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ । -रासस