इटहरीः संखुवासभाको मादी नगरपालिका–१ मा भदौ २१ गते भएको उम्लिङका तेजकुमार कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा संलग्न चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
संखुवासभा जिल्ला अदालतको आदेशमा कारागार चलान हुनेहरुमा उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर काकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । कार्यालयका अनुसार आइतबारदेखि जारी थुनछेक बहस सकिएसँगै अदालतले चारै जना वयस्क अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिदिएको हो । अभियुक्तहरुमध्ये एक जना बने नाबालिग रहेकाले उनलाई बाल सुधार गृह पठाउने आदेश भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै पक्राउ परेका लोकबहादुरको बयानका आधारमा पक्राउ परेका अन्य अभियुक्तहरुउपर अनुसन्धान सम्पन्न गरी असोज १५ गते सरकारी वकिल कार्यालयलाई प्रहरीले प्रतिवेदन बुझाएपछि आज अदालतले अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार र बाल सुधार गृह पठाउने आदेश जारी गरेको हो ।