इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ८, भुर्कीमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको खुलासा भएको छ ।

असोज १५ गते अपराहन्न ५ः०० बजे साँझपखको व्यायाम (इभिनिङ वाक) का लागि हिँडेकी महिलामाथि ६ जनाको समूहले कुटपिटपछि सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार घटनालगत्तै प्रहरीमा जाहेरी दिन आएकी पीडित महिलाको जाहेरीका आधारमा घटनामा संलग्नमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी जबर्जस्ति करणी अभियोगमा अनुसन्धान सुरु गरेको छ । घटनापछि फरार रहेका एक अभियुक्तको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाका ६ मध्ये पाँच अभियुक्तहरु १८ वर्षभन्दा कम उमेरका नाबालिग व्यक्तिहरु रहेको एसपी थापाले बताए । अभियुक्तहरुले महिलामाथि सामूहिक बलात्कार गरिसकेपछि उनीसँग रहको दुई तोला चार आनाको सुनको सिक्री र तीन हजार रुपैयाँसमेत लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित महिलाको स्वास्थ्य परीक्षण सम्पन्न गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तहरुमध्येका बालिग अभियुक्त इटहरी १४ का सुनिल चौधरीलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।