इटहरीः १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई प्रेस युनियन बराहक्षेत्र नगर समितिले सम्मान गरेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको भएको नगर अधिवेशनमा निर्वाचित भएका पदाधिकारीहरुलाई नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले आज सम्मान गरेको हो । नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यमा नगरको वडा नम्बर ३ नडाहामा आयोजित कार्यक्रममा प्रेस युनियन बराह नगर समितिले बराह नगर सभापति रमेश कार्कीलगायत अठार जना पदाधिकारीहरुलाई सम्मान गरिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न समितिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।
कार्यक्रममा वक्ताहरूले नयाँ निर्वाचित समितिले बराहक्षेत्र नगरपलिकामा कांग्रेसलाई एक ढिक्का बनाएर आसन्न निर्वाचनमा स्थानीय तहमा विजय हासिल गर्न शुभकामनासमेत दिएका थिए । सम्मान ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै नगर सभापति रमेश कार्कीले अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै अब पार्टीलाई एकजुट बनाएर अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले निर्वाचित पदाधिकारीलाई बधाइ एवम् शुभकामना दिँदै बराह कांग्रेस एकढिक्का भएर आसन्न निर्वाचनमा स्थानीयदेखि संघ सम्मको निर्वाचनमा कांग्रेस उमेदवारलाई जिताउनुपर्ने बताए । अधिकारीले भने, ‘हामी एकजुट हुँदा हाम्रो जित सुनिश्चित छ । यसम द्विविधा नलिए हुन्छ ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बराहक्षेत्रका नेता एवम् महासमिति सदस्य बाबुराम बिष्टले निर्वाचित पदाधिकारीलाई बधाइ एवम् सम्मान गरेकोमा प्रेस युनियनलाई धन्यवाद दिँदै नयाँ निर्वाचित कार्यसमितिले बराहक्षेत्रमा सशक्त रूपमा पार्टी गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी, कार्यक्रममा बोल्दै प्रेस युनियन सुनसरीका जिल्ला उपाध्यक्ष सन्जिव वाग्लेले प्रेस युनियन र नेपाली कांग्रेसको सम्बन्ध र इतिहासका बारेमा प्रकाश परेका थिए । उक्त कार्यक्रममा कांग्रेस नेता जगतबहादुर कार्की, शंकर बस्नेत, रमेश काफ्ले, सन्त राई लगायतले शुभकामना तथा बधाइ दिएका थिए । कार्यक्रमका सभापति एवम् प्रेस युनियन बराहक्षेत्र नगर समिति संयोजक संगम बिष्टले नवनिर्वाचित कार्यसमितिका लागि गरेको सम्मान तथा बधाइ कार्यक्रमले प्रेस युनियन र कांग्रेस बीचको सम्बन्ध र सहकार्यलाई अझै प्रगाढ र मजबुत बनाएको बताएका छन् । उनले निर्वाचित पदाधिकारीलाई बधाइ एवम शुभकामना दिएका थिए ।