इटहरीः इलामको सूर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका १० फिक्कल का ३५ वर्षीय अनुप अग्रवाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः०० बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले प्रयोग गरेको मे १ च ६४२४ कारलाई जाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सय दरका गरी जम्मा ११ लाख भारतीय रुपैयाँ फेला परेपश्चात् उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका अभियुक्त अग्रवाललाई कानूनी कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।