इटहरी: इटहरी उपमहानगरपालिकाले खनार बजारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका समान बेच्न राखेको पाइएको छ ।

अनुगमन टोलीले म्याद गुज्रिएका सामान नष्ट गरेको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको पाइएको हो । एउटा पसलमा त तीन वर्षअघि म्याद गुज्रिसकेको समानसमेत राखेको पाइएको छ । चाउमिन मसला, मन्थन गोल्ड सुजी, मुसुरो दाल, ज्वाँनो, पवित्रा मकै चामल, पूर्णिमा गरम मसला, सेन्चुरी मसला, मिट मसला, गोल्ड सेबाई, बजाज अल्मोण्ड तेल, अमृत कफि चकलेट र बीकेएस मसलाको म्याद गुज्रिएको पाइएको हो ।

1633331730207

पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइयो । चार वटा पसल व्यवसाय प्रमाणपत्रबिना नै सञ्चालन भएको भेटियो । दुईवटा पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा ब्यवसाय प्रमाणपत्र लिन, पसल नवीकरण गर्न र लेबल गरेर मात्र सामान बेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका सामान नष्ट गरी त्यस्ता सामान नबेच्न र छुटटै ठाँउ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवलकिशोर भटटराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान बेच्न राखेको पाइए कानुनबमोजिम कारबाही हुने उनले बताए । गत साल बजार अनुगमन गरिएका पसलहरुमा भने सुधार आएको पाइएको छ । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गर्ने उनले जानकारी दिए ।

1633331730223