काठमाडौँः मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो । सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई रु.१ लाख २० हजार बुझाएर रोजगारीका लागि मलेशिया गएका थिए । त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम शुरू गरे । तर कम्पनीले मलेशियाली सरकारले तोके अनुसारको तलब र अतिरिक्त समय काम गरेको थप रकम दिएन । र, पनि युवराजले काम छोडेनन् ।
नौ वर्षसम्म काम गरेपछि भने कम्पनीले अघिल्लो वर्ष (अक्टोबर, २०२०) बलजफ्ती कामबाट निकालेर घर पठायो । अन्ततः मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपालीसहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।
खड्काको ‘अपराध’ भनेको उनले कोरोना कालमा कामदारहरू भीडभाडमा बसेर काम गरेको देखिने तस्वीर खिचेका थिए । ती तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि कम्पनीले उनलाई तत्काल श्रम सम्झौता खारेज गरेर नेपाल फिर्ता पठायो । यसरी फिर्ता पठाउँदा कम्पनीले हवाई टिकटको खर्च समेत व्यहोरेन ।
खोज पत्रकारिता केन्द्र (खोपके) सँग कुरा गर्दै खड्का ‘कोरोना महामारीका बेला पनि कामदार भीडभाडमा बस्नुपर्ने अवस्थाको तस्वीर खिचेको थाहा पाएर जबरजस्ती कामबाट निकालेको’ बताउँछन् । उनले सन् २०२० को मे महीनामा उक्त तस्वीर खिचेका थिए ।
“टप ग्लोभ खतरनाक कम्पनी हो । उसका विरुद्ध कसैले उजुरी ग–यो भने व्यक्ति पहिचान गरेर दुव्र्यवहार गर्ने मात्र होइन कामबाटै निकाल्छ” उनी भन्छन्, “त्यसैले धेरैजसो कामदार बरु ज्यादती खप्छन् तर, कम्पनी विरुद्ध उजुरी गर्दैनन् ।”
अडिटरहरूले कम्पनीको स्थलगत निरीक्षण गर्ने गरे पनि उनीहरू आउनुअघि नै कामदारलाई राम्रो कुरा मात्र भन्न दबाब दिइने र कम्पनीले गराउने सोसियल अडिट नै पारदर्शी र वास्तविक नहुने खडका बताउँछन ।
खड्काका अनुसार, कम्पनीले कामदारलाई सरकारले तोकेको न्यूनतम तलब नदिने, खाना नखाएका कामदारबाट समेत क्यान्टिनले शुल्क असुल्ने, बिदाको दिन काम गर्दा अतिरिक्त भत्ता नदिने जस्ता समस्या त्यहाँ कार्यरत धेरैजसो श्रमिकले भोगेका छन् ।
खड्का मात्रै होइन, श्रम शोषणको आवाज उठाएको र विभिन्न ठाउँमा गुनासो गरेको भनेर अरू नेपाली कामदारलाई पनि टप ग्लोभले कामबाट निकालेको छ । काभ्रेका वीर तामाङ तीमध्येकै एक हुन् ।
मलेशियास्थित आप्रवासी कामदारबारे आवाज उठाउँदै आएका नागरिकहरूको संस्था माइग्रेन्ट वर्कर्स् राइट टु रिडे«स कोलिसनद्वारा २५ जनवरी २०१९ मा प्रकाशित एक विज्ञप्तिमा टप ग्लोभले कामदारलाई तोकिएको भन्दा बढी समयसम्म काममा लगाउने, ऋणको बन्धनमा पार्ने, असुरक्षित रूपमा काममा लगाउने, तलब रोकिदिने र पासपोर्ट नदिने जस्ता काम गरेको उल्लेख छ ।
टप ग्लोभले कोरोना महामारी शुरू भएपछि पनि कामदारमाथि शोषण गरिरहेको विवरण सार्वजनिक भए । ८ अप्रिल २०२० मा मलेशियाका विपक्षी दलका सांसद चाल्र्स सान्टियागोले नियामक निकाय र उत्पादकहरूले कम्पनीका कामदारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका थिए । उनले बेलायतको एक मिडियासँग कुरा गर्दै कामदारले जोखिम मोलेर काम गरे वापत अतिरिक्त रकम दिनुपर्ने भए पनि कम्पनीहरूले त्यसो गर्न अस्वीकार गरेको बताएका थिए ।
चाई परिवारको अफशोर कम्पनीमा लगानी
कामदारमाथि चर्को श्रमशोषणमा मुछिएको टप ग्लोभका मालिक तथा अध्यक्ष लिम वी चाई र उनको परिवारका सदस्यले ब्रिटिश भर्जिन आइल्याण्डमा विभिन्न कम्पनी खोलेर लगानी गरेको भेटिएको छ ।
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजात केलाउँदा चाई र उनको परिवारका सदस्यले ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी गरेको खुलासा भएको हो ।
उनीहरूले ‘माउन्टेन हाई क्यापिटल’, ‘रोबस्ट लिडर म्यानेजमेन्ट लिमिटेड’ र ‘टप इन्भेस्टमेन्ट लिमिटेड’ कम्पनी खोलेर लगानी गरेको पाइएको हो । चाई, मलेशियाका अर्बपति मध्येमा पर्छन् ।
आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार टप ग्लोभका मालिक चाईले सन् २०१३ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ‘माउन्टेन हाई क्यापिटल लिमिटेड’ नामक कम्पनी खोलेर लगानी गरेका हुन् ।
टप ग्लोभका एक कर्मचारीले कम्पनी दर्ता लगायतको काम गरिदिने ट्राइडेन्ट ट्रष्ट नामक ल फर्मलाई इमेल लेख्दै ‘माउन्टेन हाई क्यापिटल’ दर्ताको बारेमा सूचना आदानप्रदान गरेको भेटिएको छ । यो कम्पनीको निर्देशकमा लिम वी चाई स्वयं छन् भने निर्देशकहरूमा उनकी श्रीमती टंग सु बी र छोरा लिम जीन फेंग छन् ।
कम्पनी दर्ता सम्बन्धी प्राप्त कागजात अनुसार चाई, टप ग्लोभका अध्यक्ष समेत हुन् । त्यस्तै श्रीमती टंग सु बी, टप ग्लोभकी प्रबन्ध निर्देशक हुन् । यस्तै चाईका छोरा लिम जीन फेंग टप ग्लोभकै सहायक प्रबन्धक हुन् । माउन्टेन हाई क्यापिटल नामक यो कम्पनीको कार्यालय मलेशियाको सेलंगर राज्यस्थित साह आलम शहरको टप ग्लोभ टावरमा रहेको उल्लेख छ ।
चाई यसअघि फेडेरेसन अफ मलेशियन म्यानुफ्याक्चरिङका अध्यक्ष पनि थिए । उनी मलेशियाको मलेशियन रबर ग्लोभ म्यानुफ्याक्चर्स एशोसिएसन (मार्गमा) का सदस्य समेत हुन् ।
इमेल आदानप्रदानको रेकर्ड अनुसार ६ फेब्रुअरी २०१७ मा फेंगले ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको आफ्ना बाबु चाईको कम्पनी माउन्टेन हाईमा एक डलरका दरले ५० हजार कित्ता शेयर रहेको प्रमाणित गरेका थिए । कागजात अनुसार चाईको मलेशियाको सीआईबीएम इन्भेष्टमेन्ट ब्यांकको खातामा २४ जनवरी २०१७ सम्ममा २७ करोड ६२ लाख ५ हजार ८८८.९५ रिंगिट बराबरको रकम थियो ।
त्यस्तै, चाईको ३१ डिसेम्बर २०१८ सम्म टप ग्लोभमा प्रति कित्ता ६.२०४० मलेशियाली रिंगिट मूल्य रहेको प्रत्यक्ष ७३ करोड ९८ लाख २९ हजार ५५२ कित्ता र अप्रत्यक्ष १७ करोड ४४ लाख ४३ हजार २१६ कित्ता साधारण शेयर लगानी छ । टप ग्लोभले सन् २०२० को नोभेम्बरमा प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार चाई सहित उनको परिवारका सदस्यको यो कम्पनीमा करीब २७ प्रतिशत शेयर लगानी रहेको देखिन्छ ।
प्रतिवेदन अनुसार टप ग्लोभमा ‘फस्र्ट वे युनाइटेड कर्प’ नामक कम्पनीको ६.८ प्रतिशत प्रत्यक्ष शेयर लगानी छ । ‘फस्र्ट वे युनाइटेड कर्प’ ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको कम्पनी हो ।
माउन्टेन हाई क्यापिटलले कारोबारका लागि ब्यांक अफ सिंगापुरमा खाता खोलेको पाइएको छ । चाईले सिंगापुरलाई ‘गेटवे’ बनाएर आफ्नो धन ब्रिटिश भर्जिन आइल्याण्डसम्म पु–याएको देखिन्छ । प्राप्त कागजात अनुसार उनको यो कम्पनीमा करीब एक करोड ४० लाख अमेरिकी डलर बराबरको सम्पत्ति छ । यो कम्पनीको सम्पर्र्क व्यक्तिमा पनि टप ग्लोभकै कर्मचारीको नाम राखिएको छ ।
मलेशियाली लगानीकर्ताहरूको ‘ड्यू डिलिजेन्स’ गर्ने क्रममा कानूनी सल्लाहकारहरूले हेर्ने एउटा प्रमुख पाटो भनेको मलेशियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड ‘वान एमडीबी’सँग सम्बन्ध रहे÷नरहेको भन्ने हुन्छ । यो कम्पनी दर्ता गर्न नियुक्त ट्राइडेन्ट ट्रष्ट नामक ल फर्मले चाईको यो काण्डसँग सम्बन्ध नरहेको दाबी गरेको छ ।
कम्पनीको वेबसाइटमा सार्वजनिक विवरण अनुसार टप ग्लोभका ५० फ्याक्ट्री, २२ हजार कामदार र ८१२ उत्पादन लाइन छन् । यसले वार्षिक १०० अर्ब गोटा पञ्जा उत्पादन गरेर १९५ मुलुकमा निर्यात गर्छ। झण्डै २० वर्षदेखि करीब तीन हजार नेपाली कामदार कार्यरत यो कम्पनीबाट उत्पादित पञ्जा नेपाल पनि आइपुग्छ । -खोज पत्रकारिता केन्द्र