इटहरीः इलामको सदरमुकाम इलाम बजारनजिकै पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले इलाम नगरपालिकाको धोबीधारानजिकै सडक भत्काएको हो । पहिरो गएपछि सडकको ८५ प्रतिशत हिस्सा क्षतिग्रस्त भएको छ । क्षति धेरै ठूलो भएकाले मर्मतसम्भार गर्न समय लाग्ने भएपछि रुट डाइभर्ट गरी सवारी सञ्चालनको प्रयास भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाम नगरपालिकाले सडक मर्मतका लागि सडक डिभिजन कार्यालयको सहयोग मागेको छ ।

तत्कालका लागि यातायातका साधनलाई गन्तव्य पहिचान गरी भानुपथबाट चोकबजारतर्फ आउने भए शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने व्यवस्था गर्न लागिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । त्यस्तै धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाइने उनको भनाइ छ ।