इटहरीः सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेर स्थानीयको बालीनाली नोक्सान गर्नेजस्ता कामका कारण चर्चामा आइरहने ‘मकुना’ नामको जङ्गली हात्तीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

धानबाली जोगाउने उद्देश्यले स्थानीयले लगाएको विद्युतीय तारबारबाट करेन्ट लाग्दा मकुनाको मृत्यु भएको हो । शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले निगरानीमा रहेको मकुना आइतबार बिहान करिब ५ बजेतिर मृत भेटिएको आरक्षका संरक्षण अधिकृत (वार्डेन) अशोककुमार रामले बताए । हात्तीसार उत्तरपट्टि अक्वा रिसोर्टदेखि तीन सय मिटर उत्तर, बाँधपूर्वको पटेर घारीमा हात्ती मृत भेटिएको संरक्षण कार्यकर्ता राजकुमार सिंहले बताए । वार्डेन रामका अनुसार हात्तीको पोस्टमार्टम गर्न स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ । करिब ३२–३३ वर्षीय माकुनाले मध्यवर्ती क्षेत्रमा आफ्नो गतिविधि बढी गर्ने गरेको थियो । मकुनाको उपद्रव नरोकिएपछि वन्यजन्तु चिकित्सकले दुई पटक डार्ट प्रहार गरेका थिए ।

मकुनाको आक्रमणमा परी आरक्ष वरपरका १६ जनाको मृत्यु भइसकेको छ । सुनसरीको चतरा, प्रकाशपुर, कुशाहा, सप्तरीको कञ्चनपुर, खडक नगरपालिकामा करेन्ट लागेर हालसम्म ६ ओटा हात्तीको मृत्यु भइसकेको आरक्षको अभिलेखले देखाउँछ । केही समयअगाडि नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडि ल्याएको थियो । तर, सर्वत्र विरोधपछि प्रशासन आफ्नो निर्णयबाट ’व्याक’ भएको थियो । मकुना दाह्रा नभएको कोशीटप्पुको भाले हात्ती हो । आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको नायकको रूपमा स्वीकारेको छ । आरक्षले आफ्नो वेबसाइटमा मकुनाबारे भनेको छ, ‘यसमा कुनै शङ्का छैन । जम्मा १७ जङ्गली हात्तीमध्ये मकुना यहीको स्थायी हात्ती हो । सामान्य रुपमा भाले जातिका वन्यजन्तु एक्लै बस्छन् । तर आरक्षमा ९–११ मत्ता हात्ती समूहमा देखिन्छन् । यो आरक्षमा जङ्गली हात्ती सजिलै अवलोकन गर्न सकिन्छ ।’