इटहरीः साहस उर्जा कम्पनीले जारी गरेको आईपीओ आज बाँडफाँट गरिएको छ ।
आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलले आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । गोलाप्रथामार्फत् कुल ६ लाख ४४ हजार जना सर्वसाधारणले १० कित्ताका दरले शेयर हात पारेका छन् । साहसको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आईपीओमा पुनः आवेदन गर्ने स्थानीयको आवेदन भने कम्पनीले रद्द गरिदिएको छ । साथै, दोहोरो आवेदन दिएका सात हजार सात सय ११ जना सर्वसाधारणको आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार चार सय ६० जनालाई गोलाप्रथामा सहभागी गराई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले बताएको छ ।
साहस उर्जाले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल ७० लाख कित्तामध्ये पाँच प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र तीन प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।