इटहरीः मेची राजमार्गअन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा आवागमन प्रभावित भएको छ ।

सवारी साधनसहित गन्तव्यतर्फ लागेका सर्वसाधारण बाटोमा अलपत्र परेको स्थानीयले बताएका छन् । सुख्खा पहिरोले यातायात सञ्चालन पूर्ण रुपमा ठप्प हुन पुगेको छ । इलाम नगरपालिका–८ मा पर्ने यो क्षेत्रमा आाज बिहान सुख्खा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । राजमार्गमा पहिरो गएपछि वैकल्पिक बाटो प्रयोग गरेर साना सवारी साधनको आवागमनलाई सहजीकरण गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रहरीले झापाबाट इलाम हुँदै पाँचथर–ताप्लेजुङ जाने र त्यहाँबाट तराई झर्ने सवारी साधनलाई इलाम बजारभित्रबाट चल्नेगरी डाइभर्ट गरेको छ । सडकको करिब आधा भाग पहिरोले बगाएको छ। पहिरो गएको सडक क्षेत्रको अवस्था हेर्दा सडक निर्माण हुन केही दिन लाग्न सक्ने प्रहरीको पूर्वानुमान छ ।