इटहरीः मोरङको विराटनगर महानगरपालिका ४ की ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान घर भएका लभ कोइराला रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गत भदौ २२ गते बालिकामाथि बलात्कारको प्रयास गरेका कोइराला बालिका डराएर घटना सार्वजनिक नभएपछि तीन सातासम्म पक्राउ पर्न सकेका थिएनन् । बालिकालाई अभियुक्त कोइरालाले कोठाभित्र लगेर जबरर्जस्ति कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेका कारण बलात्धकार प्रयास सफल हुन नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अभियुक्तको धाक धम्कीका कारण बालिकाले घटना सार्वजनिक नगरेकोमा बालिकाको व्यवहारमा अप्रत्यासित परिवर्तन देखिएपछि अभिभावकले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो । बालिकाले घटनामा कोइरालाको संलग्नता रहेको बताएलगत्तै अभिभावक र स्थानीयले आज बिहान अभियुक्त कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको डीएसपी राईले बताए । उनका अनुसार पक्राउ परेका अभियुक्त कोइरालाउपर जबर्जस्ति करणी उद्योग अभियोगमा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा अनुसन्धान अगाडि बढाइएको छ ।