इटहरीः खोटाङको दिक्तेल –रुपाकोट–मझुवागढी नगरपालिका–१३ स्थित मध्यपहाडी लोकमार्गमा गएराति भएको ट्याक्टर दुर्घटनामा परेर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स १ त ७०७१ नम्बरको ट्याक्टरका सहचालक दिक्तेल –रुपाकोट–मझुवागढी –४ का १८ वर्षीय पिलक्स राई रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार रबुवाबाट दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर राति १०ः३० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो ।
पल्टिएको ट्याक्टरले च्यापिएर सहचालक राईको घटनास्थलमै मृत्यु भएको डीएसपी तिम्सिनाले बताए । ट्याक्टर र चालक खोटाङको हलेसी तिवाचुङ नगरपालिका–३ का २४ वर्षीय महेन्द्र राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।