इटहरीः पूर्वपश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्गमा पश्चिमबाट सुनसरी जिल्लाको सुन्दर नगरी इटहरी पुग्नै लाग्दा आइपुग्छ दरबार । पूर्वतिरबाट भने इटहरी चौक कटेर पश्चिम लागेपछि लविपुरमा भर्खरै खुलेको ठूलो सुपरमार्केट भाटभटेनी आउँछ, भाटभटेनीबाट ५ घर पश्चिमपट्टि भेटिन्छ होटल दरबार रेष्ट्रो ।
आकर्षक भवनमा सुन्दर डिजाइन, सफा र मनमोहक आर्टले भरिएका टेबल र भित्ताहरु । यहाँ पुग्ने जो कोहीको मन पनि एक पटक फुरुङ्ग हुन्छ र हुन पनि पर्छ । मान्छे घरबाट बाहिर हिँडेपछि शान्त र एकान्त मन पराउँछ अनि खानामा स्वस्थ्य र स्वादिलो । हो त्यही मान्यतालाई सावित गर्न दरबार खुलेको बताउँछन् यहाँका सञ्चालकहरु पनि । यो कस्तो दरबार हो त ? अल्कोहलिक चिसो पेय पदार्थ पाइने हुनाले दर “बार” भनिएको हो कि ? सञ्चालक राजकुमार राईले कुरा काटे “ यो हामि बहुजातीय नेपाली सबैलाई लक्षित गरेर बनाइएको सबैको दरबार हो । हामी सबै जातजातिको प्रतिनिधित्व गर्न चाहान्छौँ र सबैलाई समेट्न पनि चाहन्छौँ । ” राजकुमारको भनाईले हाम्रो चित्त पनि बुझ्यो । जनजाति, आर्य , खस सबैको प्रतिनिधित्व गर्ने आर्ट अर्थात कलात्मक डिजाइन पनि चाँडै ल्याएर आफ्नो होटलको भित्तामा सजाउने दरबारका सञ्चालकहरुको योजना पनि सुनियो ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ मा भाटभटेनी सुपरमार्केट खुल्ने भएपछि त्यसैलाई पछ्याउँदै निर्माण र सजावटको काम सुरु गरेको रहेछ दरबारले पनि । संयोग नै भन्नुपर्छ, भाटभटेनीको उद्घाटन र होटल दरबार रेष्ट्रोको सफ्ट ओपनिङ्ग पनि एकै दिन भएको रहेछ गत भदौ महिनाको १९ गते । एक जना कलिला युवा छन् राजकुमार राई । अनि उनको उर्जा र साहसमा साथ दिएका छन् नगेन्द्र राई र मचिन्द्र राईले पनि । उनीहरु तीनै जना यस दरबारका “राजा” अर्थात सञ्चालक हुन् । यी तीनै जना एकै परिवारका उर्जाशील युवाको सोचले दरबार बनेको रहेछ । तीन जना सञ्चालकहरुमध्ये राजकुमारले होटल म्यानेजमेन्टमा स्नातक गरेका रहेछन् अनि मचिन्द्र र नगेन्द्र भने पोल्ट्रि व्यवसायी । एक करोडको लगानीमा खुलेको यस दरबारलाई तयार गर्न झण्डै ८ महिना खर्चिनु परेको मचिन्द्रले हामीलाई सुनाए । सञ्चालक मध्येका दुई जना पोल्ट्रिको व्यवसायमा पनि संलग्न रहेकाले चिकनको परिकारमा ग्राहकलाई विशेष सहुलियत दिन सकिने दरबारको विश्वास रहेको छ ।
होटल दरबार रेष्ट्रोले धुवाँरहित चिकन तन्दुरी बनाउने र आफ्ना ग्राहकलाई यो एरियाकै पहिलो स्मोकलेस चिकन आइटम बेच्ने रेष्टुरेन्टको रुपमा चिनाउने योजना पनि हामीले सुन्यौँ । धुवाँरहित परिकार बनाउनकै लागि छिमेकी राष्ट्र भारतबाट साढे ४ लाखको भट्टि खरिद गरिएको छ । होटल म्यानेजमेन्टको विद्यार्थी भएको हुनाले स्वाद र स्वास्थ्यलाई ध्यान दिँदै उत्कृष्ट खाना ख्वाउन सकिने र एक पटक आउने ग्राहकलाई बारम्बार आफ्नैमा तान्न सकिने राजकुमारको विश्वास छ । “हामी सस्तोमा पनि धेरै सस्तो अर्थात् ६ सय रुपैयाँमा नै होल चिकेन तन्दुरी दिने योजनामा छौँ” राजकुमार भन्छन् । धुवाँरहित तन्दुरी मात्र नभएर धुवाँरहित सेकुवा समेत दरबारले यो क्षेत्रका पारखीका लागि चखाउने भएको छ । राजकुमारले अघिल्लो वर्ष मात्र राजधानीको ज्ञानेश्वरमा रहेको इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट होटल म्यानेजमेन्ट विषयमा स्नातक उत्तीर्ण गरेका रहेछन् । अनि चीनमा ६ महिनाको इन्टर्न गरेका रहेछन् सोफिटल ब्राण्डको होटलमा ।
राजकुमारले अध्ययन गरेको कलेज होटल म्यानेजमेन्ट पढाउने कलेजहरुमा एक नम्बरमै आउँछ । धेरैजसो साथीहरु अध्ययनपछि विदेश पनि गइसके तर आफू भने अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरौँ भन्ने योजनास्वरुप होटल खोल्नतिर लागेको राजकुमार बताउँछन् । धेरैजसो आफ्नै देशमा केही गर्छु भन्नेलाई आफन्तले साथ दिँदैनन् । तर राजकुमारलाई भने साथीभाइ तथा आफन्तले पनि साथ दिएका रहेछन् । चिकनका परिकारलाई जोड दिने क्रममा यो एरियामै पहिलो पटक तन्दुरी पिज्जा लन्च गर्न लागेको राजकुमारले सुनाए । दरबारको ग्राउण्ड फ्लोरमा नन्स्मोकिङ्ग पारिवारिक वातावरणका टेबलहरु छन् । नो स्मोकिङ्गका टलक्क टल्कने प्लेट हरेक टेबलमा राखिएको छ भने पहिलो तलामा लजको निर्माण कार्य चलिरहेको छ । माथिल्लो तलामा रुफटप रेस्टुरेन्ट राखिएको छ । मदिरापानसँगै जमघटको लागि उत्कृष्ट रुफटप रेस्टुरेन्टमा सिसा पनि पाइने रहेछ ।
विशेष दिनहरुमा लाइभ म्युजिकसमेत राख्ने साथै जातजातिहरुका विशेष अवसरहरुलाई मध्यनजर गरेर उनीहरुको विशेष खानालाई परिकारको रुपमा ल्याउने सञ्चालकहरुको योजना रहेछ । चाइनिज, नेपाली , इन्डियनजस्ता सबै प्रकारका खानालाई प्राथमिकताका साथ राखिने राजकुमारले हामीलाई बताए । सफ्ट ओपनिङ्गमै पनि सोचेभन्दा राम्रो भइरहेको र ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको अर्का सञ्चालक मचिन्द्रको भनाइ थियो । रेष्टुरेन्ट तथा होटलमा गुणस्तर र शुद्धता पहिलो प्राथमिकता भएकोले त्यसमा कमी हुन नदिने दरबारको भनाइ छ । दरबारले मुस्लिम समुदायका ग्राहक समेतलाई मध्यनगर गरेर ग्राहकले चाहेमा हलाल चिकेनसमेत उपलब्ध गराउने रहेछ । तन्दुरीको परिकार बनाउनको लागि दक्षिण भारतको चेन्नईमा काम गरेका सेफ दरबारले भित्राएको छ ।
“अन्य स्टाफहरु पनि प्रोफेसनल हुनुहुन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका वेटरहरु पनि राखेका छौँ । स्टाफिङ्गमा स्थानीयलाई प्राथमिकता दिएका छौँ ” मचिन्द्र भन्दै थिए । दरबारलाई सबैको आफ्नै बनाउन बाजागाजासहित सबै जातजातिका सँस्कृति झल्किने गरी कलात्मक आर्ट राखिने योजना सुनाउन उनीहरुले कत्ति पनि ढिला गरेनन् । तीन जना सञ्चालकमध्ये नगेन्द्र राईलाई भने हामीले भेट्न पाएनौँ । आफ््नै ठाउँमा नयाँ सोचसहित होटल व्यावसायमा होमिएका यी तीनै भोजपुरे युवाको सोचले सार्थक गति लियोस् । हाम्रो शुभकामना ।