इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नेकपा एमालेको जारी महाधिवेशनको प्रचार गरिएको छ ।
उपमहानगरका सूचना र जानकारी नगरवासीसमक्ष सम्प्रेषण गर्ने ध्येयका साथ सञ्चालनमा ल्याइएको फेसबुक पेजलाई एमालेको मुखपत्र बनाइएको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा गत वर्षको पुस ५ गते तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई कित्तामा विभाजित भएको थियो । त्यसको केही महिनापछि ओलीका सहकर्मी माधवकुमार नेपालले छुट्टै नेकपा एस पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि एमालेको पहिलो विधान महाधिवेशन भएको हो । आज अर्थात् असोज १५ गतेबाट ललितपुरमा नेकपा एमालेको महाधिवेशन सुरु भएको हो । उपमहानगरको फेसबुक पेजमा त्यही समारोहका दुई दर्जनभन्दा बढी फोटोहारु हालिएको छ ।
क्याप्सनमा चाहीँ ‘नेकपा एमाले प्रथम महाधिवेशन ललितपुर २०७८÷६÷१५ गते’ लेखिएको छ । इटहरी उपमहानगरपालिकामा तत्कालीन नेकपा एमालेबाटै नगर प्रमुखमा द्वारिकलाल चौधरी र उप प्रमुखमा लक्ष्मी गौतम निर्वाचित भएका थिए । पेजमा राखिएको फोटोमा वैशाखी टेकेर उपमेयर गौतम विधान महाधिवेशनमा पुगेको देखिन्छ । मेयर चौधरी पनि महाधिवेशनमा पुगेका छन् तर उनी भने पेजमा राखिएका फोटोमा देखिएका छैनन् । उपमहानगरपालिकाको फेसबुक पेजमा पार्टीको विधान महाधिवेशनको फोटो भुलवश अपलोड हुन गएको र आफूले तत्काल हटाउन निर्देशन दिने इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।