इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । आज बिहान इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।
उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी सामान बिक्री गरेको पाइएको छ । तीन वटा पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नवीकरण गर्न र लेबल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ ।
इटहरीमा अब नियमित रुपमा बजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवलकिशोर भटटराईले जानकारी दिए । इटहरीमा समय समयमा भएका बजार अनुगमनका कारण म्याद गुज्रिएका सामान थन्क्याउने प्रयोजनका लागि छुटटै ठाँउको व्यवस्था गर्न थालिएको, लेबल लगाएर मात्र समान वेच्न थालिएको, डेट भएका मात्र सामान बेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईले बताए ।