इटहरीः सुनसरीको इनरुवा नगरपालिका ४ स्थित बसपार्क नजिकैबाट प्रहरीले आज बिहान ३३ किलो जङ्गली बँदेलको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोसी गाउँपालिका–६ का बिशे शर्मा र उदय मुखिया मलाह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार स१प ९१७६ नम्बरको मोटरसाइकलमा सवार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । बँदेललाई टुक्रा–टुक्रा पारेर सेतो बोराभित्र मासु प्याक गरिएको अवस्थामा फेला पारिएको उनले बताए ।
दुवै अभियुक्तहरु मासु बिक्रीका लागि पूर्वतर्फ गइरहेको अवस्थामा पक्राउ परेका हुन् । अभियुक्तहरुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको तथा बँदेल कहाँबाट मारिएको भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।