इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गतको रात्रिकालीन चेकिङलाई सक्रिय बनाउँदै लगेको छ ।
गत असोज १ गतेबाट लागु भएको रात्रिकालीन चेकिङमा ट्राफिक प्रहरीले २० लाख बढी राजश्व संकलन गरेको प्रवक्त एवम् प्रहरी नायबउपरीक्षक (डि.एस.पी) सुमनकुमार तिम्सिनाले जानकारी दिए । १३ दिनमा प्रदेश १ का १४ वटै जिल्लाबाट २० लाख ११ हजार राजश्व संकलन भएको उनले बताए । अहिले ट्राफिक प्रहरीले प्रदेशका २ सय ९५ स्थानमा एकल र प्रहरीसँगको संयुक्त चेकिङ गरिरहेको प्रवक्ता डिएसपी तिम्सिनाले जानकारी दिए । दसैँ, तिहार, छैठ, ल्होसार लगायतका चाडपर्व नजिकिँदै गर्दा रातको समयमा सुरक्षा चुनौति थपिने भन्दै ट्राफिक प्रहरीले रात्रिकालीन चेकिङ गर्दै आएको उनको भनाइ छ । यस्तै, अघिल्ला वर्षहरुमा मुख्य शहर र राजमार्ग केन्द्रित ट्राफिक चेकिङ भित्री गाउँ र ग्रामिण सडकमा पनि थालिएको उनले जानकारी दिए ।
ग्रामिण भेगमा नै ट्राफिक नियम उल्लंघन गर्नेको संख्या उच्च रहेको उनले जानकारी दिए । यतिका मात्रामा राजश्व संकलन गर्दा प्रहरीले ३ हजार ३ सय ८ वटा सवारीलाई कारबाही गरेको डीएसपी तिम्सिनाले जानकारी दिए । यसका साथै कोरोना महामारीसँगै बन्द भएको टाइम कार्ड चेकिङलाई पनि विशेष रुपमा अगाडि बढाइएको उनले जानकार दिए । रडार गन चेकिङ, आर.एस.सी.सी. चेकिङलाई पनि ट्राफिक प्रहरीले विशेष रुपमा अगाडि बढाएको उनले जानकारी दिए । ट्राफिकले योसँगै जनचेतनामूलक क्रियाकलाप र कारबाहीलाई पनि अगाडि बढाइरहेको उनले जानकारी दिए ।