इटहरीः इटहरीको मुख्य चौकमै पर्छ आरसीटी मार्केट अनि त्यही आरसीटी मार्केटभित्र छ चिप एण्ड बेस्ट मःमः हाउस । इटहरीमा मःमः बेच्ने थुप्रै रेस्टुरेन्ट छन् तर चिप एण्ड बेस्टको पहिचान भने अरुभन्दा निकै फरक छ । पूर्वी बजारको नियमित स्तम्भका लागि हामीले चिप एण्ड बेस्टलाई छनौट गर्यौँ । इटहरीको व्यस्त चौकमा निकै व्यस्त भेटिएका दीपक पोख्रेल यो मिठो मःमःको स्वाद चखाउने रेस्टुरेन्टका एकल सञ्चालक हुन् । दीपकले इटहरीलाई बफ मःमःको स्वाद चखाउन थालेको पनि १८ वर्ष पुगिसकेछ ।
जतिबेला इटहरीमा बफ मःम थिएन, त्यसमाथि बाहुनको छोरो बफ मःम बनाउने रेस्टुरेन्ट खोल्छु भन्दा खिसिट्युरीको पात्र बन्नुपरेको तितो अनुभव दीपकलाई अझै पनि रहेछ । इटहरीको व्यस्त चौकको व्यस्त बजारमा सानो सटर, खानको लागि बस्ने ठाउँ थिएन । उभिएरै ग्राहकले मःमः खानु पर्ने अवस्था थियो । तैपनि दीपकले हार मानेनन् र स्वाद चखाइरहे इटहरीलाई । समस्या अथाह थियो । घर परिवारबाट पनि बफ मःमःको पसल खोल्नको लागि खुलेर स्वीकृति थिएन, न त चिनेजानेका साथीभाइ र आफन्तले स्याबासी दिए । तर मन न हो । मनको स्वीकृति भएपछि दीपकले व्यवसाय सुरु गरे र आज सफल भएर देखाइदिएका छन् दुनियाँलाई । इटहरीमा मःमःको व्यापार गर्नुअघि दीपकले ९९ पसल सुरु गरेका रहेछन् त्यही शहरमा । हरेक सामानलाई ९९ रुपैयाँमा बेच्नेगरी पार्टनरसिपमा खोलेको त्यो पसलले दीपकलाई सन्तुष्टि मिलेको रहेनछ । हुन त त्यो ९९ सप पनि महँगोमा सामान बेच्न पल्किएका व्यापारीको लागि काँडोझँै भएको थियो त्यतिबेला ।
वैवाहिक जीवनमा बाँधिएपछि त्यसबाट मात्र गुजारा चलाउन गाह्रो हुने सम्भावना भयो दीपकलाई । त्यही भएर एकल लगानीमा अथाहा सम्भावनाको क्षेत्र होटलमा हात हालेका रहेछन् उनले । त्यसो त मःमःको पसल गर्नको लागि दीपकसँग होटल र व्यवसायको ज्ञान पनि रहेछ । भारतको कलकत्तामा साथीसँगै होटलकै तालिम लिन गएका रहेछन् उनी । “कलकत्तामा चाइनिज कुजिनसम्बन्धी तालिम लिएँ । साथै त्यहाँका राम्रा चलेका रेस्टुरेन्टमा काम गर्ने र अनुभव हासिल गर्ने अवसर पनि पाइयो ।” दीपकले हामिलाई सुनाए । त्यही अनुभवले दीपकलाई होटल गर्न हौसाएको रहेछ इटहरीमा । सानो एउटा सटरबाट सुरु गरेको दीपकको चिप एण्ड बेस्ट मःम हाउस अहिले निकै फराकिलो ठाउँमा छ । व्यस्त टेबलहरु प्राय खाली हुँदैनन् र खुसी र सन्तुष्टि दुवै मिलेको रहेछ दीपकलाई पनि । समय र मागलाई सम्बोधन गर्दै दीपकले नयाँ परिकार थपेका छन् आफ्नो मःमः हाउसमा । त्यो हो भेज मःमः । एकको सफलतापछि व्यावसायीले अरु परिकार पनि थप गर्छन् ।
तपाईँले चाहीँ किन मम नै थप गर्नुभयो त ? भन्ने हाम्रो प्रश्नमा दीपक मुस्कुराए । भन्छन् “ एउटा कुरालाई निरन्तरता दिन सक्यो भने मात्र पहिचान बनाउन सकिन्छ । मेरो पहिलेदेखिको चाहाना भनेको मःमः बेच्ने हो र म यसैलाई निरन्तरता दिने पथमा छु । ” दीपकको बुझाइमा हरेक सफलताको पछाडि निरन्तरताको ठूलो हात हुन्छ । मेहनत गरे सफल भइन्छ र समयलाई पनि पर्खन सक्नुपर्छ भन्ने विचार राख्ने यी युवाले मःमःको अचार अरुमा भन्दा आफ्नोमा उत्कृष्ट बन्ने गरेको सुनाए । “चिप एण्ड बेस्ट मःमःमा अचारका थुप्रै पारखीहरु कमाएको छु । होटल व्यवसायमा सबैभन्दा ठूलो कुरा स्वाद हो । त्यही स्वादका कारण ग्राहकहरु सम्झेर आइरहनुहुन्छ । एउटा व्यवसायीलाई त्यो नै खुसीको कुरा हो” दीपक भन्दै थिए । जतिबेला दीपकको मःमः पसल खुल्दै थियो, त्यतिबेला उनको पसलमा मःमः खानेहरु अहिले प्रौढ हुन लागे । त्योभन्दा दोस्रो पुस्ता पनि आफ्नो बच्चा लिएर त्यही होटलमा मःमः खानका लागि आउँछन् । त्यसै विषयलाई आँकलन गर्ने हो भने चिप एण्ड बेस्ट मःमःले तीन पुस्तालाई सेवा दिन पाएको छ ।
हुन त अहिले दीपकले झैँ मःमः मात्र बेच्नेगरी पनि अरु ४÷५ वटा रेस्टुरेन्टहरु खुलिसकेका छन् इटहरीमा । तर बजारमा अस्वस्थ प्रतिस्पर्धा भने न त घटेकै छ न त हटेकै छ । बजारमा मेरा ग्राहक खोस्नको लागि अर्को खुल्यो भन्नेजस्तो सङ्किर्ण मानसिकता बढ्दै गएकोतर्फ निराश देखिने दीपक आफूजस्तै सेवा दिने रेस्टुरेन्ट खुलेकोमा निकै खुसी देखिन्थे । भन्दै थिए “जे भएपनि त्यसले मःमःको बजारलाई बढाएको छ । ग्राहकलाई पनि रोजेर मिठो मःमःको स्वाद लिने वातावरण बनेको छ । ” मःमः बाहेक दीपकले चिसो पेय पदार्थ , केक, ब्राण्डेड चकलेट, आइसक्रिम र बर्थ डेका लागि चाहिने सामानहरु प्नि बेच्दा रहेछन् । मोरङ्ग जिल्लाको लक्ष्मी चौकमा जन्मेहुर्केका दीपकले स्नातक सम्मको अध्ययन गरेका छन् । व्यवसाय सुरु गर्दा दीपक भर्खरै वैवाहिक जीवनमा बाँधिएका थिए । एक वर्ष आफँै जोडी मात्र भएर मःमःको व्यवसाय सुरु गरे । अहिले दीपकसँग १० जनाले रोजगारी पाएका रहेछन् ।
समय र व्यवसायले आफूलाई व्यस्त बनाएपनि हरेक बिहानको कम्तिमा ४ घण्टाको समय दीपक होटलमै बिताउँछन् । हरेक दिन मःमःको लागि बनाइने किमाको मसला आफैँ तयार गर्छन् अनि आफ्नो पहिचानलाई बचाइराखेको मःमःको अचार आजसम्म दीपक आफैँले नै पकाइरहेका रहेछन् । मःमःको व्यवासाय गरेरै दीपकले इटहरीमा आफ्नै पसिनाले घडेरी र घरको सपनालाई पूरा गरेका रहेछन् ।
सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील दीपक लायन्स क्लब अफ इटहरी इनोभेसनको प्रेसिडेन्ट, शुभलाभ बचत तथा क्रण सहकारी संस्थाको सञ्चालक समिति सदस्य, होटल तथा लज व्यवसायी समिति इटहरीको महासचिव, एभरेस्ट पोलिसी इन्स्टिच्युटका अध्यक्ष, नेपाल इन्फो नामक एपका लगानीकर्ता साथै युथ फर सोसल डेभलपमेन्ट इटहरीका अध्यक्ष पनि हुन् । युवा जनशक्तिलाई विदेश जानुभन्दा पनि देशमै लगानीको वातावरण भएकाले सानो लगानीबाट भएपनि व्यवसायका क्षेत्रमा होमिन सकिन्छ भन्ने दीपक लेबरर भएर होइन लिडर भएर मात्र विदेश जाऔँ भन्ने नारालाई स्थापित पार्न चाहन्छन् । “जडिबुटीसँगै वाटर टुरिजमका क्षेत्रमा ठूलो सम्भावना भएकाले युवाले विदेश जानैपर्छ भन्ने अवस्था छैन । देशमै केही गर्न सकिन्छ भन्ने दिपकको भनाइ थियो ।
आफ्ना थुप्रै शुभचिन्तकको मागलाई ध्यानमा राख्दै चाँडै नै इटहरीबाहिर चिप एण्ड बेस्ट मःमःको शाखा खोल्ने दीपकको योजना हामीले सुन्यौँँ । कोरोना महामारीका कारण दुई पटक देशलाई लकडाउन गर्दा होटल व्यवसायीहरु ठूलो मारमा परेको र यसबाट निस्कन निकै समय चाहिने दीपकले हामीलाई बताए । सरकारी तवरबाटै होटल व्यवसायीको समस्यालाई मूल्याङ्गन गरेर केही न केही राहतको योजना ल्याउनुपर्ने उनको भनाइ छ । दीपकको कुरा सुन्दै गर्दा जे गरे पनि आफूले सुरु गरेको कामलाई निरन्तरता दिन अति जरुरी हुन्छ । निरन्तर एउटै काम गरे सफलताले पछ्याउँदै तपाईलार्इँलाई नै खोजिरहन्छ । एउटा व्यवसाय, त्यसमाथि पनि एउटा परिकार मःमः नै बेचेर खुसी र सन्तुष्टि दुवै हात पार्ने दीपकलाई खोज्दै मिठो मःमःको स्वाद लिनेहरुको भीड यो शहरले देखिरहन पाओस् भन्ने शुभकामना हामीले दियौँ ।