इटहरीः नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारीमाथि कुटपिट गर्ने विराटनगर १२ स्थित होटल इस्टर्न स्टारका सञ्चालक तुलसी पोख्रेलले क्षमायाचना गरेका छन् ।
होटलले विद्युत् महशुल नतिरेपछि लाइन काट्न पुगेको टोलीका कर्मचारीमध्ये इलेक्ट्रिसियन तारानाथ खतिवडामाथि होटलमै बन्धक बनाई कुटपिट गरेका पोख्रेलले माफी मागेका हुन् । बुधबार लाइन काट्नका लागि प्राधिकरणको विराटनगर वितरण केन्द्रका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर–५ का सुनील हरिजन र चालक विराटनगर–४ का जितबहादुर सुनुवारको टोली पुगेकोमा होटल सञ्चालक विराटनगर १३ का तुलसी पोख्रेलले इलेक्ट्रिसियन खतिवडालाई कुटपिट गरेका थिए । पोखरेलको नेतृत्वमा होटलका सुरक्षागार्ड र कर्मचारीसमेत मिलेर इलेक्ट्रिसीयन खतिवडामाथि आक्रमण गरिएको थियो । आक्रमणबाट खतिवडाको गाला सुन्निएको थियो ओठ फुट्नुका साथै निधरको देब्रे पाटो फुलेको थियो ।
आक्रमणको खबर पाएलगत्तै परिचालित प्रहरी र प्राधिकरण कर्मचारीहरुले खतिवडाको उद्धार गरेका थिए । प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। समयमा शुल्क नबुझाएका कारण त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ । कुटपिटमा संलग्न सञ्चालक पोख्रेल नेकपा एमालेका कार्यकर्ता तथा निवर्तमान सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकार भइसकेका व्यक्ति हुन् । महशुल नबुझाएको दुई महिनामा लाइन काट्ने गरेको प्राधिकरणले कर्मचारीमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्नुपर्ने माग गरेको छ । उनले आफूमाथि लागेको कुटपिटको आरोप अस्वीकार गरेकोमा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाउने भएपछि क्षमायाचना गरेका हुन् । त्यसक्रममा उनले आफू आवेसमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ति नदोहोर्याउने प्रतिवद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले बताए ।