इटहरीः इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारी नीति अनुरुप पारदर्शी नबनाएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार इटहरी उपमहानगरले सामाजिक सुरक्षा भत्तासमेत समयमा वितरण गर्ने गरेको छैन । हरेक चौमासिकमा निकासा गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता बापतको रकम पहिलो किस्ता असोज महिनाको १ गतेदेखि दोस्रो हप्ताभित्र, दोस्रो किस्ता माघ १ गतेदेखि दोस्रो हप्ताभित्र र अन्तिम किस्ता जेष्ठ महिनाको १ गतेदेखि दोस्रो हप्ताभित्र निकासा गरिसक्नुपर्ने व्यवस्था छ । इटहरी उपमहानगरले भने सामाजिक सुरक्षा भत्ता बापतको रकम पहिलो किस्ता मात्र समयमै निकासा गरेको छ भने बाँकी ३ किस्ता कार्यविधिभन्दा बाहिर गएर निकै ढिलो मात्र निकासा गरेको पाइएको छ । उपमहानगरले पहिलो किस्ता असोज ९ गते निकासा गरेको महालेखाको प्रतिवेदनले बताउँछ भने बाँकी किस्ता भने दोस्रो माघमा निकासान गर्नुपर्ने रकम चैत महिनामा र अन्तिम किस्ता जेठ महिनामा हुनुपर्ने निकासा असारको पनि १४ गते मात्र निकासा भएको छ ।

 सामाजिक सुरक्षा भत्ताको कार्यविधि अनुरुप हरेक स्थानीय तहले सुरक्षा भत्ता पाउने व्यक्तिको नाम सहितको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने भएपनि इटहरी उपमहानगरले यस्तो विवरण राखेको छैन । हरेक स्थानिय निकायले कार्यविधि अनुसार भत्ता वितरण गरे नगरेको अनुगमन सामान्य प्रसासन मन्त्रालय अन्तर्गतको विभाग , केन्द्रिय पन्जिकरण विभाग र जिल्ला सम्वन्वय समितिले गर्ने भन्ने कार्यविधि भएपनि गत आर्थिक बर्षमा कुनै पनि निकायले इटहरी उपमहानगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता सम्बन्धि अनुगमन गरेको छैन । हरेक स्थानीय निकायले सामाजिक सुरक्षा भत्तालाई पारदर्शी बनाउनको लागि हरेक चौमासिकमा एक पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने कार्यविधि भएपनि गत आर्थिक वर्षमा उपमहानगरबाट यस्तो कुनै पनि सार्वजनिक सुनुवाईसमेत नभएको पाइएको छ ।

सामाजिक सुरक्षा ऐन २०७५ ले कसैले दोहोरो सुविधा लिएको वा नलिएको बारेमा हरेक स्थानीय निकायले पनि अनुगमन गरी दोहोरो सुविधा लिनेलाई कारबाही गर्नुपर्ने कार्यविधि तोकेको भएपनि इटहरी उपमहानगरबाट यस्तो कुनै पनि अनुगमन नभएको र त्यसको प्रतिवेदनसमेत पेस नगरिएको पाइएको छ । अनुगमनलाई प्रभावकारी बनाउँदै भत्ताको विवरणलाई आवधिक राख्नुपर्ने र पारदर्शी बनाउनुपर्ने महालेखाको प्रतिवेदनले आँैल्याएको छ । आर्थिक वर्ष २०७७÷ ७८ मा इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ताबापत २९ करोड १८ लाख ५२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।