इटहरीः गायिका प्रिति आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

मङ्गलबार काठमाडौँको सामाखुसीमा आयोजित एक कार्यक्रमबीच ‘आलुजस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायक पवन र गायिका प्रितिको यो दोस्रो सहकार्य हो । यसअघि झण्डै डेढ वर्षअघि ‘भुत्रो मायाजाल’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलुजस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो भागका रुपमा लिइएको छ । सार्वजनिक कार्यक्रममा गायिका प्रितिले यस पटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाझ ल्याएको जानकारी गराइन् । आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै यस पटक पनि केही फरक गीत सार्वजनिक गरेको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ तर लोक गीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ प्रितिले भनिन् ।

preeti ali song

‘डान्सिङ गीतलाई त्यही अनुसार लिइदिनुहोला ।’ गायिका प्रितिले गीतको शिर्षक किन विवादित बनाउन खोज्नु हुन्छ भन्ने सञ्चारकर्मिहरुले गरेको प्रश्नमा गीतको शिर्षक हेरेर गीतको मूल्यांकन नगरिदिन अनुरोध गरिन् । प्रितिले अघि भन्छिन्, ‘खासमा केटा र केटी बीचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलुजस्तो केटा अथवा आलुजस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितिले विवादमा ल्याउनकै लागि यस्तो शीर्षक नराखेको भन्दै प्रष्ट पारिन् । यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रितिसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताए । दर्शक तथा स्रोताको चाहाना अनुरुप यस गीत ल्याएको पवनको भनाइ छ । ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शीर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत पनि गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’

गीतमा शब्द पनि प्रिति आलेले नै लेखेकी छिन् भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ । गीतमा पवन र प्रितिले पनि अभिनय गरेका छन् । यस्तै उनीहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । भिडियोमा लगानीसमेत गरेका रञ्जनले गीत राम्रो लागेको कारण प्रिति र पवनको टिमसँग जोडिएको बताए । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।