इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित होटल इस्टर्न स्टारले विद्युत महशुल नबुझाएपछि विद्युत् लाइन काट्न हिँडेको विद्युत् प्राधिकरणको टोलीका एक कर्मचारीलाई होटल सञ्चालकले कुटपिट गरेका छन् ।

लाइन काट्नका लागि प्राधिकरणको विराटनगर वितरण केन्द्रका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर–५ का सुनील हरिजन र चालक विराटनगर–४ का जितबहादुर सुनुवारको टोली पुगेकोमा होटल सञ्चालक विराटनगर १३ का तुलसी पोख्रेलले इलेक्ट्रिसियन खतिवडालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार पोखरेलको नेतृत्वमा होटलका सुरक्षागार्ड र कर्मचारीसमेत मिलेर इलेक्ट्रिसीयन खतिवडामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणबाट खतिवडाको गाला सुन्निएको छ । ओठ फुट्नुका साथै निधरको देब्रे पाटो फुलेको छ ।

आफूमाथि लात, मुक्काका साथै इटा प्रहार गरिएकोमा आफू छलिएर ज्यान जोगाएको पीडित खतिवडाले बताए । आक्रमणको खबर पाएलगत्तै परिचालित प्रहरी र प्राधिकरण कर्मचारीहरुले खतिवडाको उद्धार गरेका थिए । प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। समयमा शुल्क नबुझाएका कारण त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ । कुटपिटमा संलग्न सञ्चालक पोख्रेल नेकपा एमालेका कार्यकर्ता तथा निवर्तमान सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकार भइसकेका व्यक्ति हुन् । उनले आफूमाथि लागेको कुटपिटको आरोप अस्वीकार गरेका छन् । महशुल नबुझाएको दुई महिनामा लाइन काट्ने गरेको प्राधिकरणले कर्मचारीमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्नुपर्ने माग गरेको छ । तर, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने मेलमिलाप हुन नसके मात्र कारबाहीको प्रकृया अगाडि बढाइने जनाएका छन् ।