काठमाडौँः मानेभञ्याङ आम्बोटेमा दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा १४ करोड लागतमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय निर्माण भइरहेको छ ।
भण्डारीको जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका काकाले १८ रोपनी जग्गा निःशुल्क दिएका हुन् । राष्ट्रपतिको पहलमा शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन् । राष्ट्रपतिका काका सुरेन्द्र पाण्डेले भने, ’राष्ट्रपतिको पहलमा शिक्षालय स्थापना भएपछि हामी उत्साहित भएका छौँ, यसले हाम्रो क्षेत्रको विकासमा टेवा पुग्छ भने घरको खाना खाएर आफ्नै घरआँगनमा प्राविधिक शिक्षा लिने अवस्थाको सिर्जना भएको छ, मैले पनि १८ रोपनी जग्गा दिएको छु, शिक्षालय निर्माणले हाम्रो क्षेत्रका बालबालिकाको भविष्य उज्ज्वल हुने देखिएको छ ।” राष्ट्रपतिका बुबाआमाका नामबाट स्थापना गरिएको शिक्षालय तीव्रगतिमा निर्माण भइरहेको छ । राष्ट्रपतिले प्राविधिक शिक्षालय स्थापना गरिदिएपछि प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने स्थानीयवासीको भनाइ छ । यहाँ एकेडेमिक भवन, छात्रछात्राका लागि छात्रावास, कर्मचारी आवास, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायत निर्माण हुने जनाएको छ ।
अहिले करिब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमिक भवन निर्माणको काम अहिल ४० प्रतिशत सकिएको छ । यस शिक्षालयमा महिला छात्रबास र अन्य भवन निर्माणसँगै संरचना निर्माण भइरहेका छन् । गत फागुनदेखि निर्माण थालिएको यस शिक्षालय आगामी वैशाखसम्म निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाका प्रमुख श्यामकुमार श्रेष्ठको अनुसार कामलाई समय सीमाभित्र नै सम्पन्न गर्नेगरी काम भइरहेको छ । निर्माणको काम समय सीमाभित्र सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ, सोहीअनुसार काम भइरहेको छ, काममा योभन्दा अझ धेरै प्रगति गर्ने हाम्रो लक्ष्य थियो, कोभिड–१९ तथा वर्षात्का कारण निर्माणमा केही बाधा भयो, तर पनि कामलाई तीव्रता दिएका छौँ, मुख्य एकेडेमिक भवनको काम मङ्सिर महिनाभित्र सकेर पठनपाठनका लागि तयार हुन्छ, छात्राबास लगायत संरचना पनि समयअगाडि नै समापन गरेर शिक्षालय हस्तान्तरण गर्ने मेरो योजना छ,’ प्रमुख श्रेष्ठले भने ।
यस शिक्षालयमा तत्कालीन रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त बालीविज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा अरू कार्यक्रम थप्दै लैजाने जनाइएको छ । विषेश गरेर दुर्गमका विद्यार्थीलाई प्राविधिक शिक्षाको सहज पहुँच विस्तार गर्न शिक्षालयको स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले जानकारी दिएको छ । शैक्षिकसत्र २०७८÷८९ का लागि आवेदनसमेत खुला गरिएको शिक्षालयले जनाएको छ । ५५ रोपनी क्षेत्रमध्ये संरचना बनेर बाँकी रहेको जग्गामा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालनका लागि प्रयोगमा ल्याइने जनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रका कर्मचारी तथा आयोजनाका साइट इञ्जिनियर नारायण अधिकारीले भने, ’हामीले दुर्गमका विद्यार्थीलाई सहज बनाउन प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएका हौँ, विसं २०७६ मा स्थापना भएको शिक्षालयको संरचना निर्माण भइरहेको छ, हामीले विद्यार्थीका लागि आवदेनसमेत खुला गरिसकेका छौँ ।’ रामप्रसाद राई गाउँपालिका–५ मा पर्ने यो ठाउँ सदरमुकामबाट करिब १९ किलोमिटर दक्षिणमा पर्छ ।
यो स्थान सडक सञ्जालसँग जोडिएको छ । स्थानीयको भनाइ अनुसार कच्ची बाटो हुनाका कारण वर्षात्का समयमा भने यातायात सञ्चालनमा केही समस्या हुने गरेको । स्थानीयवासी जानकी पाण्डेले भनिन्, देशलाई पहिलो महिला राष्ट्रपति दिएको ठाउँ हो, तर यो ठाउँ धेरै कारणले पछाडि थियो, यहाँ अहिले विकासको क्रम बढेको छ, वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको छ, प्राविधिक विद्यालय बन्दैछ, अब सडक र एउटा सुविधासम्पन्न अस्पताल बनिदिए जनताले धेरै राहत महसुस गर्न पाउने थिए ।’ हालसम्म जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा छन् । जिल्लामा पहिलो पटक सदरमुकाममा स्थापना भएको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युटमा तीन सय विद्यार्थी छन् । स्थापनाकालमा प्राविधिक शिक्षा लिने विद्यार्थी सङ्ख्या थोरै भए पनि पछिल्लो समय यहाँ विद्यार्थीको चाप बढेको इन्स्टिच्युटका प्रमुख शङ्कर घिमिरेले जानकारी दिए । ’यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीमा मोह बढेको छ,’ उनले भने ।
विसं २०६९ मा स्थापना भएको यो शिक्षालयमा अहिले दार्चुला, अछाम, बाजुरा, सिराहा, सप्तरी, डडेलधुरालगायत ३० बढी जिल्लाबाट विद्यार्थी आएको प्रमुख घिमिरेको भनाइ छ । प्रमुख घिमिरे भन्छन्, ’यहाँ देशका ३० बढी जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन्, विद्यार्थीको आकर्षण बढी भएकाले हामीले भर्ना अघि प्रवेश परीक्षा गरेर विद्यार्थीलाई छनोट गर्दै आएका छौँ, केही छ जिल्लाका लागि हामीले आरक्षणको व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।’ शिक्षालयका अनुसार सिभिल इञ्जिनियर र बाली विज्ञानको पढाइ भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, उदयपुर, तेह्रथुम गरी छ जिल्लाका विद्यार्थीले कोटाका आधारमा पढ्न पाउने छ । यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर भोजपुर नगरपालिका–४ मा रहेको सिद्धेश्वर, भोजपुर टक्सारमा रहेको यशोधरा, पञ्चकन्या, पञ्यकन्या, शारदा, झ्याउ पोखरी, शिक्षालयमा कन्यालगायत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान अध्ययन भइरहेको छ । यशोधरा माध्यमिक विद्यालयका प्राधानाध्यापक धु्रवराज रेग्मीले भने, ’सरकारले प्राविधिक शिक्षालाई जोड दिएको छ, त्यहीअनुसार हाम्रो विद्यालयमा बाली विज्ञानको पढाइ भइरहेको छ, विद्यार्थीमा आकर्षण बढी छ, जिल्लाका धेरै विद्यालयले प्राविधिक शिक्षाका लागि सुरुआत गरिरहेका छन् ।’ -रासस