इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित डग्राँई पोखरी जाने बाटोमा कालोपत्रे भएको दुई महिना नपुग्दै भ्वाङ्ग परेको छ ।
प्रदेश सरकारबाट बजेट छुट्टिएर निर्माण सुरु भएको सो सडक निर्माण नसकिँदै कल्भर्ट बनाएको ठाउँमा भ्वाङ्ग परेको छ भने निर्माण कार्यसमेत अहिलेसम्म सम्पन्न भएको छैन । गत वर्षको माघ महिनादेखि सुरु गरेको काम अहिलेसम्म पनि पूरा नभएको हो । प्रदेश सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भएको सो कालोपत्रे चिल्ड्रेन पार्कको योजनामा रहेको रामधुनी नगरपालिका वडा नम्बर ५ को डँग्राई पोखरी पुग्ने सडक हो । बजेट कम भएको र बाटोको बीच भागमा ह्युमपाइप हाल्नुपर्दा खर्च बढेको भन्दै अन्तिममा आएर ठेक्काको जिम्मेवारी पाएका अरुण यादवले १४ मिटर भने कालोपत्रे गरेनन् । शहरी विकास मन्त्रालय अन्तर्गतको ठेक्कामा रामधुनी ५ मा रहेको रेडक्रस नजिकैको कालोपत्रे सडकबाट जोडिनेगरी ३०५ मिटर बाटो कालोपत्रेका लागि ठेक्का छुट्टाइएको थियो । सुरुदेखि सो योजनामा काम गरिरहेका अरुण यादव आफू मुख्य ठेकेदार नभएको र आफ्नो धरौटीको रकमसमेत अहिलेसम्म नपाएको बताउँछन् । मूल ठेकेदार अर्को भएपनि आफूहरु साझेदारीमा काम गर्ने गरेको यादवले बताए । तथापि बाटो निर्माण भएको १ वर्षसम्म वारेन्टी भएकाले पुनःनिर्माणको जिम्मेवारी भने आफ्नो रहेको यादव बताउँछन् ।
बाटो पूरा नभएका प्रसंगमा प्रदेश पोर्टलसँगको कुराकानीमा यादवले मुल ठेकेदार नदराज आचार्य रहेकाले उनलाई नै सम्पर्क गर्न भने । आयोजनाका मुख्य ठेकेदार इनरुवाको आचार्य कन्ट्रक्सनका नदराज आचार्यले भने निर्माणको धेरै भाग सम्पन्न भएको र मिस्त्री नपाएका कारण केही काम बाँकी रहेको स्वीकार गरेका छन् । निर्माणको २ महिना नपुग्दै बाटोमा भ्वाङ्ग परेको कुरा भने आचार्यले वास्ता गरेनन् । भन्छन् “ निर्माणको काम बाँकी नै छ यदि भ्वाङ्ग परेको भए त्यो पनि पुरौँला । ” बाटो जति निर्माण भएको छ, त्यतिको मात्र भुक्तानी आफूहरुले पाएको आचार्यले हामीलाई बताए । माघ महिनाबाट सुरु भएको कामलाई ठेकेदारको लापरबाहीका कारण ढिलो गरी गत आर्थिक वर्षको समाप्तिपछि मात्र साउन महिना लागेपछि कालोपत्रे सुरु गरिएको थियो । छेउको भाग हाचो रहेकाले कालोपत्रे टिकाउ नहुने भन्दै ठेकेदारले ढलान गरेका छन् । त्यो पनि साढे ७ मिटर ढलान गर्न भने बाँकी नै छ ।
इन्जिनियर अशोक राम भने कालोपत्रेको गुणस्तर राम्रो भएको र त्यससम्बन्धी गुनासो आफूसम्म नआउको बताउँछन् । प्रदेश पोर्टलसँगको कुराकानीमा इन्जिनियर रामले बाटोमा गुनासो नभएपनि नाली सानो हँुदा समस्या भएको र त्यसलाई गुणस्तरीय बनाउको लागि थप बजेट आवश्यक पर्ने भएकाले त्यसको पहलमा रहेको बताए । कल्भर्ट राख्ने ठाउँ बन्द गरिएका कारण सो क्षेत्रको पानी बाहिर जान नपाउँदा स्थानीयले विरोध गरेका थिए भने स्थानीयकै विरोधका कारण बीचको कालोपत्रे गर्ने काम केही समय रोकिएको पनि थियो । रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष डेगराज फुयाँलले बाटो प्रदेश सरकार मातहत बनेको हुनाले त्यसको गुणस्तरको विषयलाई प्रदेशमा पुर्याउने बताएका छन् ।