इटहरीः च्यारिटेबल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणको खेल सम्पन्न भएको छ ।

दोस्रो चरणको आज भएको प्रि–क्वाटर र क्वाटर फाइनलमा विजयी हँुदै च्याम्स, एफबीसी, आयोजक मितेरी र ग्याटिस टिमले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । क्वार्टरफाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१, मितेरीले एफएफसीलाई ४–१ र ग्याटिसले जीजीएफसीलाई ३–२ गोल अन्तरले पराजित गरेका थिए । त्यसैगरी, एफबीसी र चेल्सी बी टिम निर्धारित समयसम्म बरावर दुई दुई गोल भएपछि टाइब्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै एफबीसी टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

713A1866

 

मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा आज मात्र प्रिक्वार्टर र क्वार्टरफाइनल गरी १३ खेल सम्पन्न भएको थियो । भोलि मंगलबार बिहान ११ बजेदेखि सेमिफाइनल र फाइनल खेल दुवै एकै दिन हुने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए । धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसलमा सम्पन्न प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी, उत्कृष्ट खेलाडी, गोलकिपर र हाई स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । भोलि मंगलबार हुने फाइनल खेल अखिल नेपाल फुटबल संघ –एन्फा) पूर्वप्रवक्ता एवं सदस्य किरण राईको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजकले जनाएको छ ।