इटहरीः सुनसरीको दुहबीमा सबारी चेकिङको क्रममा मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले लात्ती हानेर गराएको दुर्घटना गुपचुप बनाउन खोजिएको छ ।
कोशी राजमार्गको दुहबी ८ स्थित जुट मिलअगाडि शनिबार बेलुका प्रहरीको संयुक्त चेकजाँचको क्रममा विराटनगरबाट इटहरीतर्फ आँउदै गरेको को ३८ प ९२४८ नम्बरको मोटरसाइकल चेकजाँचमा नरोकिएपछि ट्राफिक प्रहरी जवान जनक न्यौपानेले लात्तीले ‘लेगगार्ड’ मा हानेका थिए । प्रहरी जवानको लात्ती प्रहारले अनियन्त्रित भएको मोटरसाइकल अर्को मोटरसाइकलसँग जुधेको थियो । सो क्रममा मोटरसाइकलमा सवार मोरङ केराबारी ८ का तुलसीप्रसाद फुँयाल र इटहरीबाट विराटनगर जाँदै गरेको को ३० प २३५८ मोटरसाइकलमा सवार इटहरी ४ का इमान राई र सीता घिमिरे घाइते हुन पुगेका थिए । फुँयालको गाला र घुँडामा चोट लागेको थियो भने इमान राई र सीता घिमिरेको हात र निधारमा चोट लागेको थियो । दुहबीकै स्थानीय अस्पतालमा तीनैजना उपचारपश्चात् घर फर्किएका छन् ।
तर यो घटनामा लात्ती प्रहार गर्ने ट्राफिक प्रहरी जवान न्यौपानेलाई जोगाउँदै घाइतेको उपचार खर्च व्यहोर्न सहमति गरिएको थियो । इलाका प्रहरी कार्यालय दुहबीमा भएको दुवै पक्षको छलफलमा लात्ती हान्ने प्रहरीले तीनै जनाको उपचार खर्च व्यहोर्ने सहमति भएको हो । लाइसेन्स नभएका कारण फुँयालले तिव्र गतिमा मोटरसाइकल भगाएको अनुसन्धानबाट खुलेको छ । प्रहरी जवानको यो हर्कत लुकाउन ट्राफिक प्रहरी पोष्ट दुहबी र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सहयोग गरेको छ । ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडासँग यो प्रसङ्गमा प्रतिकृया लिँदा उनले घटना ट्राफिकसँग सम्बन्धित नभएको भनी गैरजिम्मेवार जवाफ दिएका थिए । ‘घटना भएको मलाई जानकारी छैन, यो विषय हाम्रो हैन, जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझ्नुहोला’ भनेर एसपी खतिवडाले जवाफ फर्काएका थिए ।
तर लात हान्ने प्रहरी जवानलाई घटनास्थलबाट भगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । स्थानीय, सवारी चालक तथा घाइतेका आफन्तले ति प्रहरीलाई घेरेर हातपात गर्ने प्रयास गरेका थिए । सडक अवरुद्ध बनाएर ति प्रहरी जवानको हर्कतको व्यापक विरोध भएको थियो । यता १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमन तिम्सिनाले पनि प्रहरीको कारण नभई तिव्र गतिले अनियन्त्रित भएको मोटरसाइकल अर्कासँग जुधेको बताए । ‘चेकजाँचको क्रममा हामीले रोक्न खोज्याँै, तर मोटरसाइकल चालक प्रहरी देखेर भाग्ने क्रममा दुर्घटना भएको हो’ उनले भने ‘प्रहरीमाथि लगाइएको आरोप सरासर गलत हो ।’ ट्राफिक प्रहरीले नै यदि लात्ती हानेको अवस्था भए छानबिन हुने डीएसपी तिम्सिनाले प्रतिबद्धता जनाए ।
‘ठूलो दुर्घटना टर्यो’
ट्राफिक प्रहरीकै कारण दुईवटा मोटरसाइकल दुर्घटना हुन पुगेको चेकजाँचमा रहेका प्रत्यक्षदर्शी र स्थानीय बताउँछन् । ‘धन्न मोटरसाइकल मोटरसाइकल जुध्यो, ठूलो सवारी साधन थियो भने बाइक चालकको ‘स्पोट डेथ’ हुने स्थिति थियो’ प्रत्यक्षदर्शी स्थानीय विक्रम साहले भने ‘यसको एक मात्र दोषी ति ट्राफिक प्रहरी हुन् ।’ ‘निकै तिव्र गतिमा थियो बाइक । जनपद र ट्राफिक प्रहरीले रोक्न इसारा गर्दै थिए, तर त्यो बाइक चालक नजिकै आएर भाग्ने कोसिस गरे । तर ट्राफिक प्रहरी जवान न्यौपानलेले लात्तीले हाने र बाइक अनियन्त्रित भएर अर्कासँग जुध्यो ।’
बाइक जुधेपछि स्थानीयहरुले ट्राफिक प्रहरीको यस्तो हर्कतविरुद्ध एक घण्टा सडक अवरुद्ध गरेको साह बताउँछन् । ‘लात्ती प्रहार गर्ने ति ट्राफिक प्रहरी जवानलाई कारबाही गर्नुपर्ने मागसहित सडक अवरुद्ध गरेका थियौँ, पछि इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुमले विभागीय कारबाही हुने आश्वासन दिएपछि सडक सुचारु भएको थियो । तर अहिले दुर्घटनाको सहमति छ र ति प्रहरीलाई जोगाउन खोजिँदै छ ।’ साह भन्छन्ः ‘ट्राफिक जवानको त्यो हर्कतले चालकको ज्यान जाने अवस्था हुन सक्थ्यो । तर भाग्यले ठूलो दुर्घटना हुन पाएन ।’ नियम कानून कार्यान्वयन गर्ने प्रहरीकै यस्तो सनकपनलाई गुपचुप राखेर घटना लुकाउन खोज्नु गम्भीर विषय भएको उनको भनाइ छ । अर्का प्रत्यक्षदर्शी एवम सवारी चालक जगतबहादुर तामाङले बाइक दुर्घटना हुनुमा ट्राफिक प्रहरी जवानको बढी दोष रहेको बताए । कतिपय ट्राफिक प्रहरीको यस्तो हर्कत र व्यवहारको कारण चालकहरुले दुःख पाउने गरेको उनी बताउँछन् ।